मलेसियाको झण्डाको कट्टु लगाउँदा ९ अष्ट्रेलियन युवा जेल चलान
देशको झण्डा हरेकका लागि गौरवको प्रतीक हो । केही देशमा झण्डालाई शरीरमा प्रयोग गर्ने छुट हुन्छ । तर, केही देशमा भने झण्डालाई बुट्टाको रुपमा शरीरमा लगाइने कपडाहरुमा प्रयोग गर्न पाईदैन । अझ कट्टुमा झण्डा लगाउने कुरालाई सबैतिर रोक नै लगाइएको छ । यही कुरालाई नबुझ्दा र जोशमा अलि बढी नै गर्न खोज्दा ९ अष्ट्रेलियनहरु मलेशियाको जेलमा पुगेका छन् । २२ देखि २९ वर्ष उमेर समूहका यी अष्ट्रेलियन युवाहरुलाई पक्राउ गरिएको र अनुसन्धान पूरा नहुन्जेल करिब ४ दिन जेल चलान पनि गरिसकिएको छ । चार दिनभित्र कस्तो अभियोग लगाउने र के सजाय हुने भन्ने विषयको टुंगो लगाइनेछ । मलेशियाको सरकार नियन्त्रित न्यू स्ट्रेट टाईम्सका अनुसार ९ जनाविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्याएको र राष्ट्रिय झण्डाको अपमान गरेको आरोप लगाउने तयारी भएको छ । यदि उनीहरुमाथिको अभियोग पुष्टि हुन नसके पनि मलेशियाबाट देश निकाला गरिने भने पक्का छ । मलेशिया मुश्लिम बाहुल्य देश हो जहाँ नग्नतालाई पनि अपराधकै रुपमा लिने गरिन्छ । गत वर्ष पनि एक जोडीलाई मलेशियाको उच्च पहाड माउन्ट किनाबुलुमा अद्र्धनग्न तस्वीर खिचेको आरोपमा देश निकाला गरिएको थियो । उनीहरुले पहाडमाथि पुगेर तस्वीर खिचेको उक दिनपछि नै ५ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएपछि अझ आक्रोश थपिएको थियो । मलेशियास्थित अष्ट्रेलियन कन्सुलरको कार्यालयले पक्राउ परेका युवाहरुलाई कानूनी सहायता उपलब्ध गराइसकिएको र यसविषयमा थप जानकारी दिन नसकिने जनाएको छ ।