दशैंको स्वागतमा सिड्नीमा चंगा महोत्सव, मच्छिन्द्रनाथको रथ र कुमारी प्रमुख आकर्षण (भिडियोसहित)


घटस्थापनाको दिन । सिड्नीको रकडेलस्थित रकडेलस्थित बाईसेन्टियल पार्कमा निकै नेपालीहरुको भीड लागेको छ । कोही नेपाली खानामा मस्त छन् । कोही चंगा उडाउन त कोही कन्सर्टमा रमाइरहेका छन् । चंगा लिएर उडाउन प्रयास गरेपनि मौसमका कारण अलि कठिनाई भइरहेको पनि देख्न सकिन्थ्यो । kite-festivalनिःशुल्क प्रवेशको व्यवस्था गरिएको र धेरैभन्दा धेरै नेपालीहरुलाई सहभागी हुनका लागि आह्वान गरिएको यो महोत्सव थियो नेपाल चंगा महोत्सव । चंगा भन्ने बित्तिकै दशैंको झल्को आउँछ । यहाँ दशैंको झल्को दिने अरु पनि धेरै क्रियाकलापहरु भए । यहाँ राखिएको मच्छिन्द्रनाथको रथको प्रतिमूर्तिले धेरैलाई आकर्षित तुल्यायो । देशभन्दा यति टाढा यो आकर्षक रथ निर्माण गरेको थियो गुथी अष्ट्रेलियाले । चंगा महोत्सवको आयोजना गर्न लागेको गुथी अष्ट्रेलियाले तीन वर्ष भइसकेको छ । तेश्रो संस्करणसम्म आइपुग्दा यस पटक रथ मात्र होइन स्वयं कुमारी पनि देख्न पाइयो रकडेलको पार्कमा । रथको अगाडी र कुमारीसँग फोटो खिचाउनेहरुको ताँती नै थियो । यस्तै स्थानीय व्याण्डहरुले कन्सर्टमा नेपालका लोकप्रिय भाकाहरुमा आफ्नो प्रस्तुति दिए । चंगा महोत्सवले विगतका वर्षहरुमा भन्दा अझ ठूलो आकार ग्रहण गरिरहेको बुझाई छ गुथी अष्ट्रेलियाका सल्लाहकार पदम शाक्यको । नेपाली समूदायको अगुवा शाक्यले एमएनटीभीसँग भने, मलाई त नेपालमै भएको अनुभव भइरहेको छ । सबैजना एकै ठाउँमा भेला भएर घटस्थापनाको दिन चंगा उडाउन पाउँदा यसले हामीलाई त खुशी दिएकै छ । विदेशीलाई पनि नेपालको बारेमा चासो गाएको छ । गुठी अष्ट्रेलियाका अध्यक्ष दिप्ता श्रेष्ठले अष्ट्रेलियामा नेपाल चंगा महोत्सवको माध्यमबाट संस्कृति र सम्पदा प्रबद्र्धन गर्ने अनि अनेकतामा एकता खोजने यो प्रयास भएको बताउनुभयो । अर्को वर्ष पनि महोत्सवलाई निरन्तरता दिने भन्दै उहाँले सबैलाई सहभागी हुन आह्वान गर्नुभएको थियो । उक्त अवसरमा विभिन्न संघ संस्थाले आफ्नो सेवा सम्बन्धी जानकारी दिने स्टलहरु राखेका थिए भने नेपाली परिकारका फुड स्टल पनि देख्न सकिन्थ्यो । यस्तै बालबालिकाहरुको लागि मनोरञ्जनका विभिन्न व्यवस्था गरिएको थियो । चंगा महोत्सव नै मेलबर्नमा आगामी १६ अक्टोबरका दिन आयोजना हुँदैछ ।

Watch Video :

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?