प्रधानमन्त्रीद्वारा लाप्राक एकीकृत नमुना वस्तीको शिलन्यास, एक वर्षमा हस्तान्तरण


काठमाण्डौ । गैरआवासीय नेपाली संघ एनआरएनएले निमार्ण गर्न लागेको गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गर्नुभएको छ ।
शुक्रबार बिहान लाप्राक पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले ६१२ घरसहितको नमुना वस्तीको शिलन्यास गर्नुभएको हो । सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र प्रधानमन्त्री प्रचण्डले एनआरएनले बनाएको गुरुयोजनाको संयुक्तरुपमा अनावरण गर्नुभयो । nrna1
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘यो एकीकृत वस्ती मात्र हैन, नमुना वस्ती पनि हो, यसले देशलाई नै नयां सन्देश दिन सक्छ, अरु सयौं नमुना वस्तीहरु वन्न सक्छन ।
गैरआवासीय नेपालीहरुको राष्ट्रभक्ति देखेर आफु निकै प्रभावित भएको भन्दै उहाँले भन्नुभयो– यो निकै चुनौतीपूर्ण काम हो, सजिलो छैन, तर, शेष घलेजीको परिचय त्यसै बनेको हैन, उहाँहरुले आँटेपछि काम पूरा गनुृहुन्छ भन्ने मलाई विश्वास छ ।nrna5
भूकम्पबाट घरबिहीन हुन पुगेका एक हजार परिवारलाई घर निर्माण गरिदिने गैरआवासीय नेपाली संघको घोषणा अन्र्तगत गोर्खाको लाप्राकमा एकीकृत नमुना वस्ती बनाउन लागिएको हो । यो वस्ती निर्माणका लागि सवै खर्च गैरआवासीय नेपाली संघले गर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वस्ती निर्माणको शिलन्याससंगै गैरआवासीय नेपाली र लाप्राकबासीको सपना पुरा हुन लागेको बताउनुभयो । ‘हामीले एक बर्ष पहिले नै वस्ती निर्माणको सुरुवात गर्न चाहान्थ्यौं, हामीले त्यसका लागि चाहिने सवै पैसा संकलन पनि गरिसकेका थियौं’ अध्यक्ष घलेले भन्नुभयो–‘प्राधिकरण बन्न ढिलाई हुनु र समयमै स्वीकृति पाउन नसक्नुका कारणपनि हामीले चाहेजस्तो छिटो गर्न सकेनौं, ढिलै भए पनि अब नमुना वस्ती विकाशको सपना पुरा हुने भएको छ ।’ अध्यक्ष घलेले केही दिनमै निर्माण कार्य सुरु हुने र आगामी १२ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
गत बर्ष बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट ध्वस्त भएको लाप्राक गाउंलाई सोही गाविसको केही माथि रहेको गुम्सीपाखाका स्थानान्तरण गरी वस्ती विकाश गर्न लागिएको हो । लाप्राकमा ६ सय १२ घर बनाउने योजना रहेकोमा हाल सरकारले उपलब्ध गराएको जग्गामा ४ सय ४४ घर मात्र अटने भएका छन् । बांकी १५० घरका लागि नयां ठाउंमा जग्गा खोज्नुपर्ने भएकाले सो जग्गा पनि उपलब्ध गराइदिन अध्यक्ष घलेले प्रधानमन्त्रीसंग अनुरोध गर्नुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्रीले बांकी जग्गा पनि सरकारले नै उपलब्ध गराउने र गैरआवासीय नेपाली संघले ६ सय १२ घर नै बनाउन पाउने आश्वासन दिनुभयो ।
लाप्राक एकीकृत वस्तीमा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभुषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बन्नेछन् ।nrna4
वस्तीमा होम स्टे र सामुदायिका गेष्टहाउस बनाइ गाउंलेलाई आम्दानीको स्रोतसमेत ब्यबस्था गरिदिने संघको योजना रहेको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव डा। बद्री के।सी, सचिव अर्जुन कुमार श्रेष्ठ लगायत बिभिन्न देशबाट आएका पदाधिकारीहरु, आइसिसि सदस्यहरु, एनसिसिका प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरुको उपस्थीति रहेको थियो ।

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?