विश्वकप महिला क्रिकेट छनोटमा आयोजक हङकङमाथि नेपालको रोमाञ्चक जित


mahila-cricketहङकङमा जारी विश्वकप महिला क्रिकेट छनोटमा नेपालले आयोजकमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

पहिलो चरणमा पराजित भएको नेपालले दोस्रो चरणको खेलमा भने हङकङमाथि ६ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

कोलून क्रिकेट क्लबमा आज भएको खेलमा ७६ रनको लक्ष्य पछ्याएको हङकङले १७ ओभर ४ बल क्रिजमा टिकेर ६९ रनमात्र बनाउन सक्यो । हङकङलाई सस्तैमा समेट्ने क्रममा करुणा भण्डारीले १७ रन खर्चेर ३ विकेट लिइन् । त्यसैगरी सीता राना मगरले २ तथा सबनम राई, निर्मलाकुमारी शाही र रुबिना क्षेत्रीले समान १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रन मात्र बनायो । प्लेयर अफ द म्याच करुणा भण्डारीले अलराउण्ड प्रदर्शन गर्ने क्रममा सर्वाधिक १९ रन जोडिन् । ईन्दु वर्माले १५, ज्योति पाण्डेले ११ तथा नेरी थापाले १० रन बनाए ।

यो जितसँगै नेपालले एसियाली छनोट समूहबाट अर्को चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ । पहिलो चरणमा दुई खेलमा हार तथा एक खेलमा जित हासिल गरेको नेपालले दोस्रो चरणमा आयोजक हङकङमाथि जित हासिल गरेसँगै अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको हो ।

चार टोली सहभागी प्रतियोगितामा सबै टोलीले आपसमा दुई दुई खेल खेल्नेछन् । पहिलो चरणमा सत्प्रतिशत नतिजा निकालेको थाइल्याण्ड बिहीबार भएको खेलमा सबैभन्दा कमजोर टिम चीनसँग ३ विकेटले पराजित भएसँगै नेपालको सम्भावना अझै बलियो भएको हो ।

अब शुक्रबार थाइल्याण्डविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । यो खेलमा नेपालले फराकिलो जित हासिल गर्ने हो भने अर्को चरण प्रवेशको सम्भावना लगभग पक्काजस्तै हुनेछ । किनकी अन्तिम खेलमा नेपालले कमजोर चीनसँग खेल्नेछ ।

नेपालले पहिलो चरणमा हङकङ र थाइल्याण्डसँग हार बेहोरेको थियो भने चीनलाई हराएको थियो । नेपाल र थाइल्याण्डबीचको खेल शुक्रबार बिहान सवा ७ बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?