सिड्नीको डार्लिंग हार्बरमा नेपाल जाउँ भन्दै प्रभातफेरि
प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाल फेष्टिभल नेपालको आयोजनामा सिड्नीमा गरिएको सेफ नेपाल भिजिट नेपाल कार्यक्रम अन्तर्गत डार्लिंग हार्बरमा शनिबार विहान प्रभातफेरि गरिएको छ । नेपालका पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको अगुवाईमा हातमा व्यानर र नेपाली झण्डा बोकेर सहभागी हरु नेपाली पोशाकमा सिड्नीवासीलाई नेपालबारे जानकारी गराउँदै हिंडेका थिए । उपस्थितहरुले जिज्ञासु नजरले नेपालको बारेमा चासो राखेको सहभागीहरुले बताएका छन् । उक्त प्रभातफेरिमा प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे लगायतका पदाधिकारी, न्यू साउथवेल्सका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि बद्री अर्याल पनि सहभागी हुनुहुन्थ्यो । उक्त अवसरमा सहभागीहरुले नेपालको सगरमाथा, गौतम बुद्ध, जानकी मनिदर लगायतका ठाउँहरुको पोष्टर पनि स्थानीयलाई बाँडेका थिए । पूर्वमन्त्री आनन्द पोखरेलले उक्त अवसरमा बोल्दै नेपालको सम्बृद्धिका लागि पर्यटनको विकास गर्नुपर्ने बताउनुभयो । नेपालका विभिन्न सम्पदा विश्व सम्पदा सूचिमा रहेका छन्, प्राकृतिक सुन्दरताले पनि उत्कृष्ट रहेको नेपालको भ्रमण गर्नु सबैका लागि सुखद हुने भन्दै भूकम्प पछिको स्थितिमा नेपाल भ्रमण गर्न अष्ट्रेलियावासीलाई आह्वान गर्नुभयो ।