आज सेफ नेपाल भिजिट नेपाल अन्तर्गतको सांस्कृतिक कार्यक्रम, सहभागी हुन एमाले महासचिव मेलबर्नमा
प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेप्लीज फेष्टिभल प्रा.लि. काठमाडौंको आयोजनामा मेलबर्नमा हुने पर्यटन प्रबद्र्धनको कार्यक्रममा सहभागी हुन प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र अतिथि पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसहितको टोली र कलाकार जितु नेपाल, बद्री पंगेनी, मिलन अमात्य, प्रिती आले मेलबर्न आइपुगेका छन् । मेलबर्न विमानस्थलमा मञ्चका उपाध्यक्ष राम रानाभाट र भिक्टोरिया राज्य समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपाने सहितका पदाधिकारी र भिक्टोरियाका लागि पर्यटन बोर्डका प्रतिनिधि चिरञ्जीवी देवकोटा लगायतले स्वागत गर्नुभयो । उक्त अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव पोखरेलले अष्ट्रेलियमा नेपालीहरुको प्रगति देखेर आफु निकै हर्षित बनेको बताउनुभयो । साथै उहाँले सिड्नी, ब्रिसबेनमा पर्यटन प्रबद्र्धनका लागि भएका कार्यक्रमको सफलतासँगै मेलबर्नमा पनि नेपालको पर्यटन प्रबद्र्धनका लागि यस अवसरमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्यानबेरामा अष्ट्रेलियन राजनीतिज्ञहरुसँग भएको छलफल स्मरण गर्दै नेपालीलाई नेपालबाटै भिसा उपलब्ध गराउने विषय र अष्ट्रेलिया र नेपालको संसदमा नेपाल डेस्क स्थापना गर्ने प्रस्ताव आफुले गरेको पनि बताउनुभयो । पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले जोसुकैले आयोजना गरे पनि पर्यटन प्रबद्र्धनका कार्यक्रमले भूकम्प पछि केही खस्केको नेपालको पर्यटनलाई टेवा दिने र यसले समग्र देशकै आर्थिक सम्बृद्धिमा सहयोग गर्ने धारणा राख्नुभयो । नेप्लीज फेष्टिभल प्रा.लिका सचिव रविन्द्रपुरुष ढकालले सेफ नेपाल भिजिट नेपाल कार्यक्रमबाट अष्ट्रेलियनहरुलाई सानै मात्र प्रभाव पार्न सके पनि यसले नेपाली पर्यटनलाई थप योगदान दिने बताउनुभयो । उहाँले क्यानबेरामा भएको राजनीतिक भेटघाटमा त्यहाँका उच्च नेताहरुले आफ्ना नागरिकहरुलाई नेपाल जान प्रेरित गर्नु उपलब्धी भएको उल्लेख गर्नुभएको थियो । उक्त अवसरमा एनआरएन भिक्टोरियाका सचिव माधव पौडेल पनि उपस्थित हुनुहुन्थ्यो । एमाले महासचिव लगायतको भ्रमण टोलीको सम्मानमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले आईतबार समूदायसँगको अन्तरक्रियासहित रात्रीभोजको आयोजना गर्नुभएको छ । यसैबीच, कार्यक्रममा सहभागी हुन चर्चित लोकगायक बद्री पंगेनी, हाँस्य कलाकार जितु नेपाल गायिका मिलन अमात्य र प्रिती आले पनि शुक्रबार राति नै मेलबर्न आइसकेका छन् । आज साँझ हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन मेलबर्नवासीलाई उनीहरुले आग्रह गरेका छन् ।