मेलबर्नको नेपाली समूदायसँग एमाले महासचिव र पूर्वपर्यटनमन्त्रीको अन्तरक्रिया
पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग मेलबर्नमा अन्तरक्रिया सम्पन्न भएको छ । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालय, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया र एनआरएन भिक्टोरियाले संयुक्त रुपमा अष्ट्रेलिया भ्रमणमा रहनुभएका उहाँहरु र कलाकारहरुको सम्मानमा रात्रीभोजसहित आयोजना गरेको अन्तरक्रिया कार्यक्रम कोबर्गस्थित बिग बेल्लीमा सम्पन्न भएको छ । अन्तरक्रियामा मेलबर्नमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुले आफ्नो जिज्ञासा अतिथिहरुसमक्ष राखेका थिए । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले देशको उच्च नेतृत्व यहाँ आउँदा देशको वस्तुस्थितिको बारेमा जानकारी हाँसिल गर्न र आफ्ना अनुभवहरु देश हाँक्ने नेतृत्वलाई सुनाउने अवसरको रुपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा महावाणिज्यदूत योञ्जन र भिक्टोरियाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि चिरञ्जीवी देवकोटाले अतिथिहरु एमाले महासचिव ईश्वर पोखरेल, पूर्व पर्यटनमन्त्री एवं सांसद आनन्दप्रसाद पोखरेल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारी लोकगायक बद्री पंगेनी, हाँस्य कलाकार जितु नेपाल र गायिकाहरु मिलन अमात्य, प्रिती आलेलाई खादा लगाइदिएर स्वागत गर्नुभएको थियो । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष केशव कँडेल, समाजका अगुवा बम योञ्जन, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभका अध्यक्ष डा. अनुपम पोखरेल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका उपाध्यक्ष राम रानाभाटसहित अन्य विभिन्न संघ संस्थाका पदाधिकारीले अतिथिहरुलाई आफ्ना जिज्ञासा राख्नुभएको थियो । मुख्यतः नेपालमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, आगामी निर्वाचन, संविधानको कार्यान्वयन, पर्यटन प्रबद्र्धन र विस्तार लगायतका विषयमा प्रश्नहरु राखिएको थियो । सबै जिज्ञासाको एकमुष्ठ उत्तर दिँदै महासचिव पोखरेलले हिमाल, पहाड र तराईका हामी नेपाली एकढिक्का भएर यतिबेला विश्वमाझ चिनारी दिनुपर्ने बताउनुभयो । उहाँले कुनै देशवेष्ठित नभई नेपाल भूपरिवेष्ठित राष्ट्र हो भन्ने कुरा स्थापित गर्न खोज्दा आउने अवरोधलाई नेपाली राजनीतिक वृत्तले हटाउने बताउनुभयो । यसैगरी उहाँले अष्ट्रेलियाको आफ्नो पहिलो भ्रमणका क्रममा यहाँका नेपाली समूदायसँगको अन्तरक्रियाबाट सिक्ने अवसर प्राप्त भएको पनि बताउनुभयो । उहाँले क्यानबेरामा भएको राजनीतिक भेटघाटमा आफुले नेपालमै अष्ट्रेलियन दूतावासमार्फत भिसा दिने व्यवस्था गर्न र नेपाल र अष्ट्रेलियाबीचको सहकार्यलाई बढाउन संसदमै नेपाल डेस्क निर्माण गर्न आफुले प्रस्ताव गरेको पनि जानकारी गराउनुभएको थियो । कार्यक्रममै पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले आफ्नो पालामा सुरुवात गरेका धेरै कामको परिणाम विस्तारै देखिँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । पूर्वमन्त्री पोखरेलले नेपाल भगवान गौतम बुद्धको जन्मस्थल, प्राकृतिक विविधताका साथै सर्वोच्च शिखर सगरमाथाको हो भनेर चिनाउनुपर्ने बताउनुभयो । उहाँले आफ्नै पालामा एनआरएनसँग सहकार्य गर्दै लुम्बिनी बौद्ध सम्मेलनमा साझेदारी गरिएको, पर्यटन प्रबद्र्धन गर्नका लागि एनआरएनसँग संस्थागत सहकार्यको थालनी गरेको बताउनुभयो । आफुले पनि अष्ट्रेलियाबाट धेरै कुरा सिकेको भन्दै छोटो बसाईका क्रममा पनि धेरैभन्दा धेरै ठाउँमा पुगेर यहाँको सामाजिक विषयवस्तुका बारेमा जानकारी हासिल गर्ने मौका मिलेको बताउनुभयो । कार्यक्रममा भिक्टोरियाका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं एमएनटीभीका प्रधान सम्पादक चिरञ्जीवी देवकोटाले सकारात्मक सोचका साथ भाषणले होइन कामले पर्यटन प्रबद्र्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै यही टोलीको भ्रमणकै दौरान अष्ट्रेलियाको केन्द्रीय राजनीतिज्ञहरुसँग कुरा गरी तयार पारिएको श्रव्यदृश्य सामग्री प्रस्तुत गर्नुभएको थियो । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न तीन शहरमा आयोजना गरिएको सेफ नेपाल भिजिट नेपाल कार्यक्रम सम्पन्न गरी एमाले महासचिव र पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल न्यूजिल्याण्डतर्फ जानुभएको छ भने कलाकारहरु आज स्वदेश फर्कदैछन् ।