अष्ट्रेलियाको गोल्डकोष्टस्थित ड्रिमवल्र्ड थिम पार्कमा दुर्घटना, चार जनाको मृत्यु
अष्ट्रेलियाको गोल्डकोष्टमा रहेको ड्रिमवल्र्ड थिम पार्कमा निर्माण गरिएको थन्डर रिभर राईड नामक खेलका क्रममा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएको र उनीहरुको उपचार भाइरहेको ड्रिमवल्र्डले जनाएको छ । र्याफ्टींग जस्तै पानीको छालकाबीच ६ जना बसेर कम्तिमा ४० किलोमिटर प्रतिघण्टाको गतिमा दायाँ बायाँ हल्लिदै अघि बढ्ने यो थन्डर रिभर राईडको मजा लिइरहेका बेला उक्त राईड उल्टिएको थियो ।
दिउँसो २ः३० बजे घटना भएको र यसका विषयमा गम्भीर अनुसन्धान गरिने सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । यतिबेला पार्क बन्द गरिएको छ भने प्रहरी र अत्यावश्यकीय अन्य सेवाका साधनहरु घटनास्थलमा राखिएका छन् । ६ जना वयस्क व्यक्तिहरु एकै ठाउँमा बसेर आनन्द लिन सकिने यो खेलमा पानीमा बग्दै, किनाराहरुमा ठोक्किँदै अघि बढ्ने गर्दछ । डर र रोमाञ्चको सम्मिश्रण रहेको यो खेलमा कसरी उक्त डुंगा उल्टिन पुग्यो भन्ने विषयमा अनुसन्धान केन्द्रित हुनेछ । यसअघि पनि ड्रिमवल्र्ड थिम पार्कमै दुई घटना भइसकेका छन् । तर, यी घटनामा कसैको ज्यान भने गएको थिएन ।