नेपाल सोलिडारिटी फुटबल प्रतियोगिताको फाइनलमा, उपाधिका लागि मकाउसँग खेल्ने


solidarity_cup

नेपाल एएफसी सोलिडारिटी फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

मलेसियामा जारी प्रतियोगितामा लाओसलाई शनिबार टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित र अतिरिक्त समयको खेल २÷२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको छ ।

solidarity_cup-1
यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा लाओसले गोल गरेको थियो । पहिलो हाफमा १–० ले पछाडि परेको नेपालले दोस्रो हाफको सुरुमै गोल फर्काएर खेललाई बराबरीमा ल्याएको थियो । नेपालका लागि विमल घर्तीले गोल गरेका थिए ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ अग्रता दिलाए । निर्धारित समयमै जित नजिक पुगेर पनि नेपालले खेलको अन्त्यतिर गोल खान पुग्यो र खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

यसैबीच मकाउ पनि एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश गरेको छ । शनिबारै  भएको दोस्रो अर्को सेमिफाइनलमा मकाउले ब्रनाईलाई टाइब्रेकरमै ३–१ ले हराएको छ । योसँगै नेपालले उपाधिका लागि अब मकाउसँग खेल्ने छ ।

यसअघि निर्धारित समयको खेलमा ब्रुनाइले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?