सल्लाहकार समितिमा दुई संयोजक तोकियो, असारभित्र क्रिकेटको निर्वाचन गरिने


CANनेपाली क्रिकेटको समस्या समाधान गर्न गठित सल्लाहकार समितिको संयोजकमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यवसायी वसन्त चौधरीलाई तोकिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधिको रुपमा आएका आइसिसी सदस्य इमरान ख्वाजा र वित्त व्यवस्थापक अमर शेखसहितको उपस्थितिमा मंगलबार बसेको वैठकले सल्लाहकार समितिका लागि दुई संयोजक तोकेको हो ।

त्यस्तै सदस्यसचिवमा राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल हुनुहुन्छ भने प्रवक्तामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रेस संयोजक रोहित दाहाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि कोइराला र क्यानका पूर्व कावा अध्यक्ष दीपक कोइराला छन् ।

आइसिसी र सल्लाहकार समितिबीच भएको सहमति भएअनुसार आगामी असार दोस्रो साताभित्र नेपाली क्रिकेटको आधिकारिक निकायको निर्वाचन गरिसक्नु पर्नेछ । नयाँ नेतृत्व चयन निर्धारित समयभित्रै गरिसक्ने लक्ष्यका साथ सल्लाहकार समितिले अब काम सुरु गर्ने नवनियुक्त प्रवक्ता रोहित दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार क्रिकेटको अभिभावकीय संस्थाको नाम यही नै राख्ने भन्ने टुङ्गो भने लागेको छैन । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “पहिलेकै क्यान (नेपाल क्रिकेट सङ्घ) पनि कायम हुनसक्छ, या नेपाल क्रिकेट बोर्ड अथवा अरु नै नाम हुन सक्छ ।”

क्रिकेट विवाद समाधानका लागि भनेर गत अक्टोबरमा आइसिसीकै प्रतिनिधिको उपस्थितिमा सल्लाहकार समिति गठन भएको थियो र कार्यविधि तोकिएको थियो । तर उक्त कार्यविधि स्वीकार्य नभएको भन्दै नेपालले आपत्ति जनाएपछि आइसिसीले पुनः नेपालमा प्रतिनिधि पठाएको हो ।

संयोजकमध्ये उद्योगपति चौधरीलाई कानुनी र सरकारी निकायसँग समन्वय गर्ने जिम्मेवारी दिइएको छ भने क्यानका पूर्व अध्यक्ष पाण्डेले विधान र क्रिकेट संरचना विकासबारे योजना बनाउने जिम्मेवारी पाउनुभएको छ । त्यस्तै सदस्यसचिव अग्रवालसँग बैठक आहृवान गर्ने अधिकार छ । अब आइसिसीका प्रतिनिधिको अनुपस्थितिमा पनि सल्लाहकार समितिको बैठक बस्न सक्नेछ ।

तर सल्लाहकार समितिले निर्वाचनबाहेक अन्य क्रिकेट गतिविधि गर्न भने पाउने छैन । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?