न्याभ क्रिकेट टिम पुग्यो मेलबर्न रेनिगेड्स च्याम्पियन्स लिगको सेमिफाईनलमा


भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुको प्रतिनिधि संगठन नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले निर्माण गरेको नेपाली क्रिकेट टिम मेलबर्न रेनिगेड्स च्याम्पियन्स लिग २०१६ को सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार सम्पन्न खेलमा प्रतिस्पर्धी वैरवी लायन्सलाई २४ रनले पराजित गर्दै न्याभ क्रिकेट टिम सेमिफाईनलमा प्रवेश गरेको हो । ट्वन्टी ट्वान्टी क्रिकेटको यो खेलमा क्याप्टेन रोशन पौडेल र सजेन्द्र श्रेष्ठले तीन तीन विकेट लिएका थिए भने विकेश श्रेष्ठ एक्लैले ४६ रनको योगदान दिएका थिए । यसअघि डिफेन्डिंग च्याम्पियन एनडब्लुएस टिमलाई पराजित गर्दा क्याप्टेन सुनम गौतमले अविजित रहँदै १ सय १३ रनको योगदान दिएर टिमले १ सय ५० रनको लक्ष्य पूरा गरेको थियो ।cricket-nav यस साता क्याप्टेन गौतमविनै मैदानमा उत्रिएको टिमले समेत प्रतिस्पर्धीलाई पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको हो । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले मेलबर्नका विभिन्न नेपाली क्लबबाट खेल्ने उत्कृष्ट खेलाडीहरुलाई समेटेर न्याभ क्रिकेट टिम निर्माण गरेको थियो । नेपाली समूदायको तर्फबाट अन्य क्लबहरुसँग खेल्ने प्रतियोगितामा सहभागी हुने यो टिमको लक्ष्य हो । रेनिगेड्स च्याम्पियन्स लिग २०१६ मा विभिन्न समूदायका १२ टिम सहभागी छन् । खेलपछि प्रतिक्रिया दिँदै न्याभका उपाध्यक्ष एवं क्रिकेट संयोजक तारा गैरेले भने, “अघिल्लो वर्षको विजेतालाई पनि हामीले हराएका छौं । अब सेमिफाईनलमा समेत पुगेको यो अवस्थामा समूदायको साथ अझ बढी हामीलाई चाहिएको छ । आगामी सेमिफाईनलमा धेरैभन्दा धेरै भिक्टोरियावासीको उपस्थिति भयो भने खेलाडीहरुलाई हौसला मिल्नेछ ।” नेपाली टिमको प्रशिक्षक हुसेन हनिफ हुन् भने टिमको नेतृत्व सुनम गौतमले गरेका छन् । गौतम मेलबर्नको प्रिमियर लिगमा खेल्ने नेपाली क्रिकेटर हुन् । त्यसैगरी रोशन पौडेल उपकप्तान छन् भने सुसन गुरुंग, सुमन सिंह, आकाश सिंह, केशव पन्त, भूषण श्रेष्ठ, विकास श्रेष्ठ, सुरज थापा, किशोर कँडेल, कुशल तुलाधर, सजेन्द्र श्रेष्ठ, अनिल खनाल, अतुल्या रावल र आशिष दाहाल न्याभ क्रिकेट टिममा छन् । सेमिफाईनल भिडन्त आगामी ११ डिसेम्बर विहान ९ बजे हुनेछ । क्रिकेट मैदानको टुंगो लागेपछि यस विषयमा जानकारी सार्वजनिक गरिने पनि गैरेले एमएनटीभीलाई बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?