विश्वस्तरको नेचुरल बडी बिल्डिङमा तीन मेडल जित्ने प्रकृति श्रेष्ठ भन्छिन्, ‘नेपाली हुनुमा गर्व छ’


नेचुरल बडी बिल्डिङ फिटनेस प्रतियोगितामा तीन मेडल जित्न सफल प्रकृति श्रेष्ठले आफुलाई नेपाली हुनुमा गर्व रहेको बताएकी छिन् । विश्वस्तरको प्रतियोगितामा यस्तो सफलता हासिल गरेपछि एमएनटीभीसँग प्रतिक्रिया दिँदै उनले भनिन्, “सैयौं मानिसहरुको बीचमा नेपाली झण्डा फहराउँदै उपाधि हासिल गर्नु वास्तवमै खुशीको क्षण थियो । pra-final-1हामी विभिन्न सिलसिलामा विश्वका जुनसुकै कुनामा रहेपनि आफ्नो उद्गमस्थल, मातृभूमि विर्सन सक्दैनौं ।” प्रकृतिलाई बडीबिल्डिङमा तालिम दिएका प्रशिक्षक सन्तोषकुमार श्रेष्ठ पनि आफ्नो लागि यो क्षण जीवनकै अविस्मरणीय रहेको बताउँछन् । उनी भन्छन्, “कुनैपनि नेपाली चेलीले विश्वस्तरको प्रतियोगितामा यस किसिमको सफलता हासिल गरेर ईतिहास कायम गर्दा खुशी नहुने को होला र ? मलाई पनि स्वाभाविक रुपमा उनको सफलतामा खुशी छ ।” सिड्नी निवासी नेपाली प्रकृति श्रेष्ठले लस भेगासमा सम्पन्न आईएनबीए पीएनबीए नेचुरल ओलम्पिया च्याम्पियनशिपमा तीन मेडल जित्न सफल भएकी हुन् । pra-finalउनले ३० वर्षमाथिको स्पोर्टस मोडल विधामा गोल्ड मेडल जितिन् भने ओपन स्पोर्टस मोडल वल्र्ड विधामा रजत पदक र प्रोफेसनल ओपन स्पोर्टस मोडल विधामा कास्य पदक जितेकी हुन् । नेचुरल स्पोर्टसको विश्वस्तरको प्रतियोगितामा यस किसिमको जीत हासिल गर्ने प्रकृति पहिलो नेपाली खेलाडी हुन् । प्रतियोगिता गत नोभेम्बर १० देखि १२ तारिखसम्म सञ्चालन भएको थियो । यस प्रतियोगितामा ५० भन्दा बढी देशका खेलाडीहरु सहभागी थिए । बडी बिल्डिङ र फिटनेसमा कुनै औषधिको प्रयोग विना नै व्यायामको माध्यमबाट शारीरिक सुगठनको विकास गर्ने कार्य नै नेचुरल बडी बिल्डिङ फिटनेस हो । यसअघि प्रकृति हँगेरीमा सम्पन्न भएको विश्व च्याम्पियनशिपमा पाचौं भएकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?