मेलबर्नमा लुटपाटको शिकार भएका सन्दिप तिवारी भन्छन्, मलाई जस्तो अरुलाई नपरोस्


उनी अर्थात् सन्दिप तिवारी । नेपालमा चितवन घर भएका उनी मेलबर्न उच्च शिक्षा अध्ययनका लागि तीन वर्ष अघि आएका थिए । काम सकाएर आफ्नो घर फर्किदै गर्दा उनी बुधबार दुई लुटेराको आक्रमणमा परे । एमएनटीभीसँग यस विषयमा कुरा गर्दै उनले भने, “यो घटनाबाट अरु नेपालीले पनि शिक्षा लिनुपर्छ भन्ने लाग्छ । यसैले मैले यो कुरा सार्वजनिक गर्न चाहेको हुँ ।”

बुधबार राति सेन्ट अल्बाईन स्टेशनबाट आफ्नो घरतर्फ जाँदा बाटोमा एक व्यक्तिले रोकेर फोन मागेको तर आफुले त्यसको प्रतिकार गर्दा अर्को एक व्यक्ति समेत आएर कुटपिट गरी मोबाइल, आईप्याड लगायतका सामग्रीहरु र साथमा रहेको पर्ससमेत लुटेको उनले बताए । सन्दिप भन्छन्, “सधैं हिंड्ने बाटो घर पुग्नै लागेको थिएँ । sandeep1एकाएक त्यो व्यक्ति मेरो अगाडि आयो । मसँग फोन माग्यो । मलाई डर लागिरहेको थियो । तर, केही मिटरमै आफ्नो कोठा भएका कारण मैले उसको प्रतिकार गरेर भाग्न खोजें । तर, योजनाबद्ध तवरमा उनीहरु आएका रहेछन् । मलाई भुईमा लडाएर एउटा हातले मुख थुनेर मेरो खल्ती छाम्न थाल्यो । यत्तिकैमा अर्को पनि आएर मलाई टाउकोमा लात्तै लात्ताले हान्यो । त्यसपछि के भयो मैले केही पत्ता पाइनँ । जब होस खुल्यो त्यतिबेला म घाइते थिएँ ।”

यस्तो आक्रमण भएर सख्त घाइते अवस्थामा प्रहरीलाई खबर गर्दा पनि प्रहरीले हेलचेक्र्याई गरेको उनको आरोप छ । उनी थप्छन् “घटनास्थलबाट सकिनसकी घरसम्म गएँ । र, प्रहरीलाई फोन गरें । धेरैबेर कुर्दा पनि प्रहरी आएन ।” प्रहरीलाई फेरि फोन गर्दा आफुहरु व्यस्त भएकाले अस्पताल जान प्रहरीले भनेको सीन्दपको भनाई छ । “त्यसपछि साथीभाईको मद्दतमा म अस्पताल गएँ । त्यही प्रहरी आएर बयान लियो ।” सन्दिप भन्छन् । प्रहरीले सनसाईन अस्पतालमै आफ्नो बयान लिएको र घटनामा संलग्नको खोजी गरिरहेको उनले जानकारी दिए । सन्दिप भन्छन्, “शायद मैले फोन दिएको भए यस्तो अवस्था हुँदैनथ्यो कि ? सुरक्षित ठानेर एक्लै रातिको समयमा हिंड्दा यस्तो घटना हुन गयो । म मेलबर्नमा रहने साथीभाईलाई सावधानी अपनाउन आग्रह गर्न चाहन्छु । मलाई जे भयो त्यो अरु कोहीलाई पनि नहोस् ।” यो घटनापछि उनी बसोबास गर्ने क्षेत्र फुटस्क्रेमा राति अबेर हिंड्दा विशेष सावधानी अपनाउन पनि उनले सुझाव दिएका छन् ।

अस्पतालबाट डिस्चार्ज भइसके पनि उनी अहिले घरमा आराम गरिरहेका छन् । टाउकोमा लागेको चोटका कारण उनको आँखा वरिपरि सुन्निएको छ भने टाउकोमा पनि घाउ छ । अपराधिक मनोवृत्तिका मानिस जहाँ पनि हुने भएका कारण यसै घटनालाई लिएर मेलबर्न नै असुरक्षित छ भन्न नसकिएपनि सावधानी भने अपनाउनैपर्ने सुझाव उनले दिएका छन् । उनी अस्पतालको शैय्यामा रहँदाको यो तस्वीरले पनि घटना कति घातक थियो भन्ने पुष्टि गर्दछ । एमएनटीभीसँग फोनमा कुरा गर्दै सन्दिपले भने, “अघिल्ला दिनहरुमा यसैगरी आउँदा नजिकै मानिसहरु पनि देखिन्थे । तर, त्यस दिन पूरै सुनसान थियो । यस्तै मौकाको ताकमा लुटेराहरु हुन्छन् शायद ।” घटनाको विषयमा जानकारी पाएपछि एनआरएनका सचिव टोनु घोतानेले प्रतिक्रिया दिँदै सन्दिपको उपचार खर्च र उनको लुटिएको सामग्रीको क्षतिपूर्ति गराउन पहल गर्ने बताएका छन् । घोताने भन्छन्, “सार्वजनिक स्थलमा भएको यस किसिमको घटनामा हामी क्षतिपूर्तिको लागि पहल गर्नेछौं ।” साथै उनले आवश्यक सावधानी अपनाउन पनि सबैलाई आग्रह गरेका छन् । यो घटनापछि सन्दिपलाई भेट्न पुगेका प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपाने पनि ज्यानभन्दा ठूलो कुरा अरु नभएको भन्दै सावधानी अपनाउन र यस्तो घटना परिहाले सामानको भन्दा आफ्नो सुरक्षामा बढी सतर्क रहन सुझाव दिएका छन् ।

oli-associates

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?