नेपाली महिला क्रिकेटकी क्याप्टेन रुविना क्षेत्री मेबलर्नमा, ओमन्स बिग बास लिगमा खेल्ने


नेपाली महिला क्रिकेट टिमकी क्याप्टेन रुविना क्षेत्री तीन साता लामो तालिमका लागि मेलबर्न आइपुगेकी छिन् । मेलबर्नमा रहँदा उनले स्थानीय मेलबर्न रेनेगेड्सले आयोजना गर्ने तालिममा सहभागिता जनाउनेछिन् । साथै लिग प्रतियोगितामा खेल्ने अवसर पनि पाउनेछिन् । बिहीबार मेलबर्न आइपुग्दा राष्ट्रिय क्रिकेट क्याप्टेन रुविनालाई नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष एवं क्रिकेट संयोजक तारा गैरे लगायतको टोलीले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । क्रिकेटका एशोसिएट्स राष्ट्रहरुबाट आईसीसीले उनलाई तालिमका लागि छनोट गरेको हो । एशोसिएट्स रुकिज कार्यक्रम अन्तर्गत ओमन्स बिग बास लिगमा रुविनाले सहभागिता जनाउनेछिन् । यो प्रतियोगितालाई यहाँका स्थानीय क्लबहरुले समेत अभिरुचिपूर्वक लिने हुनाले उनको प्रदर्शनका आधारमा मेलबर्न क्रिकेटमा उनको सम्भावनाको खोजीका रुपमा पनि लिइएको छ । यसैबीच, उपाध्यक्ष गैरेले उनको तालिम र अन्य खेलको तालिका हेरेर छिट्टै नै न्याभले यहाँ रहेका महिला क्रिकेटरहरुसँग रुविनाको अन्तरक्रिया र अनुभव आदानप्रदान कार्यक्रम राख्ने भएको छ । गैरेले भने, “नेपालको राष्ट्रिय क्रिकेट टोलीको क्याप्टेन यहाँ आउँदा उनलाई स्वागत गर्न पाउनु खुशीको कुरा हो । साथै, मेलबर्नका स्थानीय क्लबहरुले उनको खेल हेरेर अनुबन्ध गर्ने सम्भावना पनि रहन्छ । साथै, उनले रेनेगेड्सको फाईनलमा खेल्ने अवसर पनि पाउनेछिन् । तर, यो सबै उनको खेल प्रदर्शनमा नै भर पर्नेछ ।” २३ वर्षीय रुविना नेपालको सशस्त्र प्रहरीको टोलीमा रहेर क्रिकेट खेल्छिन् भने राष्ट्रिय टोलीको क्याप्टेनको समेत जिम्मेवारीमा छिन् । सन् २०१२ मा न्यारी थापापछि उनी राष्ट्रिय टोलीको क्याप्टेन बनेकी हुन् । उनले पहिलो पटकमै महिला टी२० एशियन कप क्रिकेटको नेतृत्व गर्ने अवसर पाएकी थिइन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?