अपडेट :सत्कार अधिकारीलाई कुटेको आरोपमा सिड्नीबाट एक नेपाली युवा पक्राउ, सोधपुछ हुँदै


गत आइतबार विहान सबेरै सिड्नीको एक नाईट क्लब बाहिर झगडा गरेको र एक व्यक्तिलाई घाइते बनाएको आरोपमा एक नेपाली युवा पक्राउ परेका छन् । सिड्नी निवासी सत्कार अधिकारीलाई मुक्का प्रहार गरेको आरोपमा उक्त युवा पक्राउ परेका हुन् । प्रहरीले अनुसन्धान पूरा नभई उनको विषयमा खुलाउन नमिल्ने बताएको छ । नयाँ वर्षको राति भएको उक्त घटनामा काठमाडौं बुढानीलकण्ठ ११ सुकेधारा घर भई हाल सिड्नी बस्दै आएका सत्कार अधिकारी गम्भीर घाइते भएका थिए । उनको उपचार सेन्ट भिन्सेन्ट अस्पतालमा भइरहेको छ । हाल उनको अवस्था सामान्य बन्दै गएको नेपाली दूतावास क्यानबेराले जनाएको छ । दूतावासका अधिकारीका अनुसार अब उनी विस्तारै बोल्न थालेको र घटनाका विषयमा थप जानकारी उनले समेत गराउनसक्ने अपेक्षा गरिएको छ ।  प्रहरीले क्लबको ढोकामा रहेको सीसीटिभी फुटेजको सहायताले अर्को युवाको पहिचान गरी पक्राउ गरेको हो । प्रहरीले घटनाको अनुसन्धानका लागि उक्त बेला क्लबको गेटमा रहेका सुरक्षाकर्मीहरुसँग पनि जानकारी लिएको छ । बताइए अनुसार मध्यरात पछि पुगेका नेपाली युवाहरुलाई क्लब प्रवेश दिने विषयमा विवाद भएको थियो । यही विवाद चलिरहँदा ति युवाले अधिकारीलाई मुक्का प्रहार गरेका थिए । यही कारण अधिकारी एक ताला माथिबाट तल खसेर घाइते हुन पुगेका हुन् । प्रहरीले पक्राउ परेका अर्का २२ वर्षीय युवालाई सोधपुछ गरेर छाडिएको र उनी बुधबार स्थानीय अदालतमा उपस्थित हुने पनि जनाएको छ । टाउकोमा चोट लागेका उनको स्वास्थ्य सुधार भएको खबरले नेपालमा रहेको परिवारमा खुशी छाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?