प्रभु साहसहितको नेपालको संसदीय टोली मेलबर्न आउँदै, अन्तरक्रिया गरिने


नेपालको संसदको परराष्ट्र मामिला सम्बन्धी समितिका सभापति एवं सांसद प्रभु साह एक सातालामो  अष्ट्रेलिया भ्रमणका क्रममा छन् । यसैक्रममा साहसहितको टोलीले आजदेखि मेलबर्नको भ्रमण गर्ने भएको छ । साँझ मेलबर्न आईपुग्दा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले सांसद साहसहितको टोलीलाई विमानस्थलमा स्वागत गर्नुहुनेछ । स्वागत गर्नका लागि नेपाली जनप्रगतिशील् मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्कीका साथै समूदायका अन्य सदस्यहरु पनि पुग्नुहुनेछ । टोलीसँग शनिबार ७ जनवरीका दिन महावाणिज्यदूतको कार्यालयमा अन्तरक्रिया समेत आयोजना गरिनेछ । दिउँसो १ बजेबाट अन्तरक्रिया हुनेछ । यहाँ रहँदा नेपालीहरुले हासिल गरेको प्रगति, उपलब्धी र उनीहरुका समस्याबारे बुझ्न आफुले चाहेको सांसद साहले बताएका छन् । अष्ट्रेलियास्थित नेपाली दूतावास र अन्य महावाणिज्यदूतको कार्यालयहरुको निरीक्षण भ्रमणमा आएको यो टोली सिड्नी, क्यानबेरा र ब्रिसबनेको भ्रमण सकाएर अब मेलबर्न आउन लागेको हो । टोलीको सम्मानमा सिड्नी, क्यानबेरा र ब्रिसबेनमा रात्रिभोज र स्थानीय नेपाली समूदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया आयोजना गरिएको थियो । बुधबार ब्रिसबेनमा एनआरएन क्वीन्सल्याण्डको आयोजनामा भएको अन्तरक्रियामा सांसद साहसँगै टोलीमा रहेका अर्का सांसद नरेन्द्र साह पनि सहभागी थिए । ब्रिसबेनमा भएको अन्तरक्रियामा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्ड, एनआरएनका पदाधिकारीसहित समाजका अगुवाहरुले नेपालको विकास, अष्ट्रेलियाबाट लिन सकिने सहयोग र यहाँ नेपालीको अवस्थाका बारेमा आफ्नो प्रतिक्रिया दिएका थिए ।  उनीहरुको जिज्ञासाको जवाफ दिँदै साहले समूदायका साथ यस किसिमले अन्तरक्रिया गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिएका थिए । मेलबर्नको कार्यक्रम सकाएर टोली न्यूजिल्याण्ड, मलेसिया हुँदै नेपाल फर्कनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?