अकालमा ज्यान गुमाएकी श्रृष्टि भण्डारीको शव नेपाल पठाउन यसरी गर्न सकिन्छ सहयोग


गत सोमबार सिड्नीको मरुब्रा तटीय क्षेत्रमा डुबेर ज्यान गुमाएकी नेपाली विद्यार्थी श्रृष्टि भण्डारीको शव नेपाल लैजानका लागि सहयोग संकलन सुरु गरिएको छ । गो फन्डमी मार्फत १० हजार डलरका लागि आह्वान गरिएको सहयोगमा अहिलेसम्म ५ हजारभन्दा बढी सहयोग राशी जम्मा भइसकेको छ । मृतक भण्डारीकी आफन्त प्रतिष्ठा केसीले भण्डारीकी बुबाआमा र आफन्त भिसा प्रक्रिया र अन्य कारणबाट तत्कालै यहाँ आउन नसक्ने भएपछि छोरीको शव नेपाल पठाइदिन अनुरोध गरे अनुसार सहयोग संकलन गरी नेपाल पठाउन लागिएको हो । मंगलबार उनका दुई आफन्तले सिड्नीको शवगृहमा राखिएको शवलाई उनको नै हो भनी सनाखत गरेका थिए । प्रतिष्ठाले फेयरफक्स न्यूज मिडियालाई बताए अनुसार, यो घटनाबाट नेपालमा परिवारजन शोकमा डुबेका छन् । क्यानबेरामा रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघले पनि यस घटनामा सहयोग पुर्याइरहेका छन् र नेपाल शव पठाउनका लागि आइपर्ने सहयोग गर्ने बताइसकेका छन् । मात्र १३ दिन अघि फेब्रुअरी १ तारिखका दिन सिड्नी आएकी उनी फेब्रअरी १३ तारिखका दिन मरुब्रा तटमा पुगेकी थिइन् । प्रहरीले घटना शंकास्पद नरहेको जनाएको छ । यसैबीच, उक्त घटनामा श्रृष्टिसँगै मरुब्रा गएका सुदिप उप्रेतीको खोजी कार्य जारी रहेपनि कुनै सफलता मिलेको छैन ।
यदि तपाईं पनि श्रृष्टिको शव नेपाल पठाउन सहयोग गर्न चाहनुहुन्छ भने गो फन्डको तल दिइएको फोटोको लिंकमा क्लीक गरेर सहयोग गर्न सक्नुहुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?