कँडेल कन्सल्टेन्सी कप फुटबल प्रतियोगिताको उपाधि आयोजक यति फुटबल क्लबलाई
यस वर्षको कँडेल कन्सल्टेन्सी कप फुटबलको उपाधि आयोजक यति फुटबल क्लबले जितेको छ । अष्ट्रेलियाका विभिन्न राज्यका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनलमा सिड्नीको ग्रानभिल राईनोजलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै यतिले उपाधिमाथि कब्जा जमाएको हो । यो उपाधिसँगै उसले २ हजार डलर राशी समेत हात पारेको छ । एमआईटी कपका नामले चर्चित यो राष्ट्रिय फुटबल प्रतियोगिता यसैवर्षदेखि कँडेल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेपछि कँडेल कन्सल्टेन्सी कपका रुपमा सञ्चालन गरिएको थियो । प्रतियोगिताको सातौं संस्करणमा दोश्रो भएर ग्रानभिल राईनोजले ८ सय डलरसहित कप पनि जितेको छ । प्रतियोगितामा लायन्स फुटबल क्लब मेलबर्न तेश्रो हुन सफल भयो । प्रतियोगितामा ग्रानभिल राइनोजका रमेश बस्नेत म्यान अफ द टुर्नामेन्ट घोषित भए । उनले प्रतियोगिता अवधिभर आठ गोल गरेका थिए । मार्च ११ शनिबार र आईतबार गरी दुई दिन सञ्चालित प्रतियोगिताको सुरुमा लिग चरणका खेलहरु भएका थिए । यसैगरी यति फुटबल क्लबका समिर खान उत्कृष्ट गोलकिपरको उपाधि पाउन सफल भए । वेष्टर्न अष्ट्रेलियाको नेप्लीज युनाईटेड फुटबल क्लब फेयर प्ले एवार्ड जित्न सफल भएको छ । यस प्रतियोगिताका म्याच कमिश्नर सज्जन शर्माका अनुसार ३५ वर्षमाथिका खेलाडीहरुको प्रतियोगितामा अघिल्लो वर्षको विजेता सिड्नीको माछापुच्छ्रे फुटबल क्लबले उपाधि कब्जा गर्यो । माछापुच्छ्रेका विकास गौचन प्लेयर अफ दि टुर्नामेन्ट बन्न सफल भए भने सोही क्लबकै दिपराज आचार्य सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । यस्तै निरज श्रेष्ठ बेष्ट गोलकपिरको उपाधि चुम्न सफल देखिए भने सेन्ट जर्ज फ्रेण्डस फुटबल क्लब सिड्नीले फेयर प्ले एवार्ड जित्न सफल भयो । मेलबर्नको ब्रन्सविकस्थित क्लीफ्टन पार्कमा आयोजना गरिएको प्रतियोगिताको समाप्तिपछि यति क्लबका सभापति बाम गुरुंग, भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, भिक्टोरिया प्रहरीका डेप्युटी कमिश्नर एन्ड्रयू क्रिस्प, कँडेल कन्सल्टेन्सीका निर्देशक राज कँडेल, एभरेष्ट भ्यू ट्राभल्सका रामजी पौडेल लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । यस प्रतियोगितामा सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा, एडिलेड, डार्विन, तास्मानिया, अल्बरी गरी १६ टिम सहभागी थिए भने ३५ वर्षमाथिको प्रतियोगितामा ८ टिम सहभागी भएका थिए । (प्रतियोगिताका थप तस्वीरको लागि हाम्रो फेसबुक पेजमा हेर्न नभुल्नुहोला ।)