अष्ट्रेलियाको शो नै अन्तिम बन्यो कमेडियन कपिल शर्मा र सुनिल ग्रोभरको, संकटमा कपिल शर्मा शो
भारतीय कमेडियन कपिल शर्माका लागि अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गरिएको शो नै उनको टिमको अन्तिम शो बन्न पुगेको छ । सुनिल ग्रोभर र अलि अजगरमाथि दुव्र्यवहार गरेर अपशब्द बोलेको मात्र होइन जुत्ता समेत प्रहार गरेको प्रत्यक्षदर्शीको भनाई सार्वजनिक भएपछि अब उनीहरुबीच एउटै शोमा समावेश हुने आशा समाप्त भएको छ । सुनिल ग्रोबरले यसअघि पनि कपिलको कमेडी नाईट विथ कपिल शर्मा छोडेका थिए र अर्को आफ्नै शो चलाएका थिए । तर, पछि फेरि फर्किएका उनी कपिल शर्माको दि कपिल शर्मा शो को अभिन्न अंग बन्न सफल भएका थिए । यो कार्यक्रमलाई सोनी टेलिभजनले प्रशरण गरिरहेको छ । रक्सीले धुत्त भएका कपिलले उनीहरुलाई शोकै दौरानमा पनि कैयौं पटक छेडछाड गर्ने गर्दथे । महिला बनेर पैसा कमाएको भन्ने उनको आरोप हुने गर्दथ्यो । वास्तवमा यो आरोप नभएर कपिलको मनकै शब्द भएको उनले प्रमाणित गरेका छन् । अब नवजोत सिंह सिद्धु पनि उनको शोमा नरहने अवस्था सिर्जना भएको र मशहुर गुलाटीका नामले चिनिएका सुनिल ग्रोबर र दादीको भूमिकाका अलि अजगर मात्र होइन उनको साथीको भूमिकामा देखिएका चन्दु पनि शोमा नरहने खबर सार्वजनिक भएपछि उनको चलचित्र फिरंगी पनि के हुने हो भन्ने अवस्थामा पुगेको छ । अघिल्लो पटक किस किसको प्यार करुँ बन्ने बेलामा पनि उनको टेलिभिजन च्यानलसँग यस्तै किसिमको खटपट भएको थियो । तर, त्यतिबेला टिम भने एकढिक्का नै रहेका कारण क्षति नभएपनि यस पटक ठूलै क्षति कपिलले व्यहोर्नुपर्ने देखिएको छ । यसअघिको चलचित्र फ्लप भयो भने फिरंगीले कस्तो व्यापार गर्छ हेर्न बाँकी नै छ ।