एनआरएन अष्ट्रेलियाको स्पोर्टस अवार्ड सम्पन्न भरत, अनिल र नवयुगलाई सम्मान
गैरआवासिय नेपाली संघ अस्ट्रेलियाले स्पोर्टस डे अन्तर्गतका खेलमा विजयी खेलाडीका साथ नेपालका फुटबल र भलिबलका स्टार खेलाडीहरुलाई सम्मान गरेको छ । स्पोर्टस अर्वाड नाइटमा नेपालवाट फुटबलका स्टार अनिल गुरुङ, नवयुग श्रेष्ठ र भलिबलका पुर्व कप्तान भरत शाहलाई सम्मान गरिएको हो ।
नेपाली फुटबलमा नयाँ युगको आरम्भ गर्न महत्वपूर्ण योगदान दिएका नवयुग श्रेष्ठ र राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुंगले सम्मानले थप हौसला मिलेको बताएका थिए । यससँगै नेपालको तर्फबाट कुनै समयमा राष्ट्रिय टिममा रही अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो नाम बनाउन सफल थप १० खेलाडीलाई पनि प्रोत्साहनस्वरुप बिशेष सम्मान दिइएको थियो । नेपालको प्रतिनिधित्व गरी तिन पटक युथ १९ बिश्वकप खेलिसकेका यशवन्त सुबेदी, प्रेम चौधरी, टी ट्वान्टी बिश्वकप क्रिकेट खेलेका नेपालका वायाँ हाते फास्ट बलर अमृत भट्टराई, सागमा उसुमार्फत स्वर्ण पदक विजेता विनिता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका जगजित श्रेष्ठ, अनिल ओझालाई सम्मान गरिएको हो । यसैगरी नेचुरल बडि बील्डर सन्तोष कुमार श्रेष्ठ, प्रकृती श्रेष्ठ, सन्जिव चौधरी तथा जुडोका मोहन बम र भेट्रान फुटबलर राजु मानन्धरको सम्मान गरिएको हो ।
एनआरएन अष्ट्रेलियाले पहिलो पटक अष्ट्रेलियाव्यापी खेलकुद प्रतियोगिता आयोजना गरेको हो । एवार्ड नाईटमा प्रमुख अतिथी अस्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डे हुनुहुन्थ्यो । उहाँले मुलुक चिनाउने महत्वपुर्ण माध्यम खेलकुद रहेकोले खेलाडी राष्ट्रका दुतका रुपमा रहेको बताउनुभयो । एनआरएनले बिदेशमा बसेका खेलाडीलाई खोजी खोजी सम्मान गर्दा उनीहरुको योगदानको कदर हुने पनि पाण्डेको धारणा छ । एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले खेलकुद प्रतियोगिता आयोजना गर्न र खेलाडीलाई सम्मानको परम्पराको थालनी गर्न पाउँदा खुशी लागेको बताउनुभएको थियो । उहाँले मुलुकका लागि पसिना बगाएर नाम राख्ने खेलाडी सम्मानको हकदार भएकोले अन्य क्षेत्रहरुले पनि उनिहरुको सम्मानको थालनी गर्नुपर्ने बेला आएको धारणा राख्नुभएको थियो । कार्यक्रमका संयोजक तथा एनआरएनका खेलकुद संयोजक नन्द गुरुङले प्रवासमा छरिएर रहेका खेलाडी तथा युवा जगतलाई हातेमालो गर्ने र भाइचाराको सन्देशका लागि पनि प्रतियोगिता महत्वपुर्ण रहेको बताएका थिए । एनआरएन स्पोर्टस डे लाई सफल तुल्याउन योगदान दिने सबैलाई धन्यवाद दिँदै गुरुङले आगामी दिनमा पनि खेलकुदलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो । सहसचिब भिष्म भण्डारीले सन्चालन गरेको कार्यक्रममा एनआरएनले आयोजना गरेको बिभिन्न खेल बिधाका बिजेता तथा उपविजेतालाई नगद तथा ट्रफी बितरण गरिएको थियो । यसै कार्यक्रममा अस्ट्रेलियामा बसेर बिभिन्न खेलक्षेत्रमा लमो समयदेखि योगदान दिने फुटबलमा अनिल थापा मगर, भलिबलका टीका कार्की, बास्केटबलका धिरोज मल्ल,क्रिकेटका जिवन थापालाई पनि योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने युवा स्वयंससेवी किरण बराल, सुरेन्द्र पाण्डे, शितल खाँंण , विजय शर्मा र राज गुरुङ र सुमन बोहरासहितका विजेताहरुलाई कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एनआरएनएका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोखरेल, आइसीसीका युथ कोर्डिनेटर विजय पोखरेल,आइसीसी सदस्य बालचन्द्र भट्टराइ, कोषाध्यक्ष डिला खरेल, लिवरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापीत, नारायण प्रधान लगायतले पुरस्कृत हस्तान्तराण् गर्नुभएको थियो ।