भारतबाट करिब २ प्रतिशत मात्र बढी विजुली आयात गर्दा पनि हट्यो लोडसेडिंग


विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब रु १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले रु नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत् आयात गरेकामा बाँकी रहेको तीन महिनामा थप रु छ अर्ब बराबरको विद्युत् आयात हुने प्रक्षेपण गरिएको हो । प्रक्षेपण गरिएकोभन्दा कम पनि हुनसक्ने प्राधिकरणको बुझाइ छ । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्ष करिब रु १४ अर्ब बराबरको विद्युत् आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु १३ अर्ब ९७ करोड २१ लाख ९४ हजार ५२२ मूल्यको विद्युत् आयात गरिएको थियो । चालु आवको अन्त्यसम्म हिसाब गर्ने हो भने करिब रु एक अर्ब बढीको मात्रै विद्युत् थप आयात हुनेछ ।
ऊर्जा सङ्कटलाई समाधान गर्न मात्रै तत्कालका लागि विद्युत् आयात गरिएको र केही आयोजना सम्पन्न भएपछि प्राधिकरण आफैँले विद्युत् निर्यात गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ । प्रतिशतको हिसावमा गत वर्षभन्दा १.४४ प्रतिशत मात्रै बढी विद्युत् आयात हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । गत वर्ष रु ३२ अर्ब कुल आम्दानी गरेको प्राधिकरणले यस वर्ष रु १२ अर्ब बढी रु ४४ अर्ब आम्दानी गर्नेछ । गत वर्ष पाँच हजार गिगावाट आवर विद्युत् उपलब्ध भएकामा यस वर्ष छ हजार गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । यो वर्ष प्राधिकरणले एक अर्ब ९७ अर्ब २० करोड युनिट बिजुली भारतबाट आयात गरेको र गत वर्ष एक अर्ब ७३ करोड नौ लाख युनिट बिजुली आयात भएको थियो । चैतमा वर्षात् भइरहेकाले पनि आन्तरिक बिजुली उत्पादन बढेको र केही आधा दर्जन आयोजना सम्पन्न भई १०५ मेगावाट बिजुली उत्पादन थप भएको उहाँको भनाइ छ । अझै प्रणालीमा ४५ मेगावाट थप हुने तयारीमा रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । हाल विद्युत् प्राधिकरणले साँझ ९२० मेगावाटसम्म बिजुली आपूर्ति गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षात्मा बिजुली बढी हुने जानकारी दिँदै उहाँले त्यसलाई खपत कसरी बढाउने विषयमा छलफल भइरहेको उल्लेख गर्नुभयो ।
चुहावट चार प्रतिशतले घट्यो
प्राधिकरणले देशव्यापी अभियानका रुपमा बढाएको विद्युत् चुहावट तथा चोरी नियन्त्रण अभियानले हालसम्म करिब चार प्रतिशतले चुहावट र चोरीमा कमी आएको जनाएको छ । त्यसबाट प्राधिकरणलाई रु एक अर्ब २० करोड बराबरको आम्दानी भएको छ । चालु आवको अन्त्यसम्म करिब पाँच प्रतिशत विद्युत् चुहावट कम हुनेगरी कार्य अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
हुँदै नभएको महसुलको गलत प्रचार
कार्यकारी निर्देशक घिसिङले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हुँदै नभएको महसुल प्राधिकरणले तिरेन भनेर गराइएको प्रचार पूर्णत गलत भएको बताउनुभयो । विभिन्न आयोजनाले घर भाडामा लिँदा बाँकी रहेको केही रकम प्राधिकरणले तिनुपर्ने हुनसक्ने तर प्रचार गरिएजस्तो रु ५० करोड बक्यौता रहेको भन्ने प्रचार असत्य रहेको बताउनुभयो । प्राधिकरणले लिमिटेडलाई रु ४४ लाख मात्रै महसुल तिर्न बाँकी रहेको र त्यो पनि विभिन्न आयोजनाका नाममा रहेको महसुल मात्रै रहेको जानकारी दिनुभयो । प्राधिकरणले लिमिटेडलाई के कति महसुल तिर्नुपर्ने हो सो को जानकारी दिन र आधिकारिक पत्राचार गर्न आग्रह गरेको समेत उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?