छैठौं भिक्टोरियन व्याडमिन्टन प्रतियोगिता सम्पन्न, विभिन्न विधामा दिनभर खेल
अष्ट्रेलियाको भिक्टोरियामा हरेक वर्ष नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आयोजना गर्ने भिक्टोरियन व्याण्डमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । न्याभले व्याडमिन्टन भिक्टोरियाको सहयोगमा ईस्टर्न वारियर्ससँग साझेदारी गर्दै आयोजना गरेको प्रतियोगितामा भिक्टोरियाका विभिन्न सबअर्बहरुबाट मात्र नभई सिड्नीबाट पनि खेलाडीहरु सहभागी बनेका थिए । प्रतियोगिताका विभिन्न विधाका खेलहरु दिनभरि नै चलेका थिए । प्रतियोगितामा मेन्स ओपन सिंगलतर्फ सिड्नीका निश्चल खत्री विजयी भए भने जगत लिम्बु दोश्रो र रेवत बस्नेत तेश्रो बन्न सफल भएका थिए । यसैगरी महिलातर्फको सिंगल स्पर्धामा आशा गुरुंग प्रथम, आर्या पोखरेल दोश्रो र आयेशा पोखरेल तेश्रो बनेका छन् । यस्तै पुरुषतर्फको डबल्समा जीवन गुरुंग र गुम गुरुंग पहिलो भए भने सत्य साह र राजु घिमिरे दोश्रो बनेका थिए । त्यस्तै तेश्रोमा शुभ पोखरेल र विज्ञान कँडेल रहन सफल भए । महिलातर्फको डबल्समा माया गुरुंग र अस्मि गुरुंगको जोडी प्रथम बन्यो भने दोश्रो क्रमशः सरिता थापा, कुश्मी गुरुंग र ममता केसी, लीला भण्डारी बन्न सफल भए । यस्तै मिक्स्ड डबलतर्फ रेवन्त बस्नेत र ऐशा गुरुंगले उपाधि जिते भने पहिलो र दोश्रो क्रमशः निश्चल खत्री र आर्या पोखरेल, सत्इ साह र आयेशा पोखरेल बन्न सफल भए । भेट्रान पुरुषतर्फ सिंगलमा सिड्नीका सञ्जय श्रेष्ठले उपाधिमा कब्जा गरे । यस्तै भेट्रान पुरुषतर्फको डबल्समा सीताराम जोशी र सञ्जय श्रेष्ठले उपाधि कब्जा गरे । १५ वर्ष मुनीका बालबालिकाको स्पर्धामा अनुष्का पोखरेल विजयी भइन् । १० वर्ष मुनीका बालबालिकाको स्पर्धामा आर्यान पोखरेल विजयी भएका थिए । स्थानीय भेरमोन्ट साउथ स्पोर्टस लिंकमा आयोजना गरिएको प्रतियोगितामा विजयीहरुलाई सोही दिन साँझ आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका लािग अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले प्रतियोगितामा साझेदारी गर्ने ईस्टर्न वारियर्सलाई धन्यवाद दिएका छन् भने प्रतियोगिताको निरन्तरताले नेपाली समूदायका सदस्यहरुबीच खेलको माध्यमबाट सहकार्यमा बृद्धि हुने अपेक्षा गरेको बताएका छन् । प्रतियोगिता २ अप्रिल आईतबार आयोजना गरिएको थियो ।