सिरियाको समस्या समाधान गर्न अमेरिका र रुस सहमत, रासायनिक हतियारबारे दुबैको चासो


संयुक्त राज्य अमेरिका र रसिया सिरियाका बारेमा मिलेर कामगर्न सहमत भएका छन् । सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेको, त्यहाँ आतङ्कवादी क्रियाकलापमा वृद्धि भइरहेको तथा रासायनिक हतियारको प्रयोगका कारण नागरिक हताहतीको सङ्ख्यामा निकै बढ्ने गरेकोले यी दुई देशले चासो व्यक्त गरेका छन् । समस्या समाधान हुनुको साटो सिरियाको अवस्था झन् बिग्रिँदै गएकाले आगामी दिनमा सिरियाको समस्या समाधान गर्न मिलेर काम गर्न सहमत भएको समाचारमा जनाइएको छ ।
हाल रसियाका भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र उहाँका रसियाली समकक्षी सेरगेई लाभरोभका बीचमा यस विषयमा वार्ता भएको थियो । अमेरिकी विदेशमन्त्री रेक्स र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच पनि वार्ता भएको थियो । सो वार्ताका क्रममा सिरियामा पछिल्लो समयमा भएको हिंसाको अन्त्यका बारेमा पनि छलफल भएको थियो । सिरियाको पछिल्लो सङ्कटपूर्ण अवस्थाको समाधान गर्न यी दुई देश मिलेर जान सहमत भएको समाचारमा जनाइएको छ । 
सिरियाको अवस्था निकै कमजोर हुँदै गएकोले सिरियाका बारेमा आगामी दिनमा मिलेर कामगर्ने विषयमा उहाँहरुको मस्को वार्ता केन्द्रित भएको थियो । अमेरिकी विदेशमन्त्रीको हालैको विदेश भ्रमण निकै फलदायी भएको पनि रसियाली राष्ट्रपति पुटिनले जानकारी दिनुभयो । उहाँले भन्नुभएको छ– उक्त भ्रमण विगतका अमेरिकी विदेशमन्त्रीहरुको भ्रमणको तुलनामा निकै नै फलदायी भएको छ, हामीबीचका आपसी सम्बन्धका विविध विषयमा छलफल भएको छ र कुनै असमझदारीहरु छन् भने पनि तिनलाई घटाउने बारेमा कुराकानी भएको छ ।
अमेरिकी विदेशमन्त्री र रसियाली विदेशमन्त्रीको वार्तापछि बिहीबार मस्कोमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो पत्रकार सम्मेलनमा दुवै देशका विदेशमन्त्री र रसियाली राष्ट्रपति पुटिनसमेत उपस्थित हुनुभएको थियो । त्यस क्रममा राष्ट्रपति पुटिनले अमेरिकी नेतृत्वको नयाँ सरकार गठन भएपछि भएको पहिलो वार्तामा अमेरिकासँग निकै सौहार्दपूर्ण रुपमा छलफल भएको जानकारी दिनुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङले बुधबार फोनवार्ता गर्नुभएको छ । उहाँहरुले सिरियाको पछिल्लो अवस्थाका बारेमा कुराकानी गर्नुृभएको समाचारमा जनाइएको छ । यसैबीच हिजोमात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच पनि फोनवार्ता भएको थियो । वार्ताका क्रममा सिरिया विषयमा नै बढी मात्रामा केन्द्रित भएको जानकारी चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको थियो । सिरियामा भएको पछिल्लो हमलामा सरकारी सेनाले नै रासायनिक हतियार प्रयोग गरेकोले यसको विश्वव्यापी मात्रामा विरोध भएको छ । यस आक्रणमा पनि कयौँ गैरसैनिक एवम् निर्दोष नागरिकको ज्यान गएको छ । यस हमलामा परी कैयौँ बालबालिका पनि मारिएका छन् । ती बालबालिकाको हत्यामा सरकारी सेना नै सक्रिय हुनुलाई बिडम्बना भन्दै राष्ट्रसङ्घीय बालकोषलगायत संसारबाटै विरोध भएको छ । यस विषयमा पनि के कसरी अघि बढ्ने भन्ने बारेमा उहाँहरुबीच कुराकानी भएको थियो ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सो विषय हेर्नुपर्ने आवाज संसारभरि उठेको बताइएको छ । उक्त परिषद्मा यस मुद्दामा अमेरिका र चीनले एउटै धारणा राख्ने बारेमा हिजो अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच सहमति भएको थियो । सो सहमतिका विषयमा भने रसिया र अमेरिकाका बीचमा कुनै छलफल भएको बारेमा बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा केही बताइएको छैन । रसियाली राष्ट्रपतिले पुटिनले रसिया र अमेरिकाले आगामी दिनमा मिलेर कामगर्ने जानकारी दिनुभएको थियो । वार्तामा सो सहमति भएको त्यस पत्रकार सम्मेलनका क्रममा बताइएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?