न्याभ मल्टिकल्चरल क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि श्रीलंकन नर्दन लायन्स टिमलाई
अष्ट्रेलियाको भिक्टोरियामा बस्ने नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा तीन दिनसम्म चलेको मल्टिकल्चरल क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि श्रीलंकन समूदायको टिम नर्दन लायन्सले जित्न सफल भएको छ । सेमिफाईनलमा दुई नेपाली टिम पुगेपनि फाईनलमा भने भारतीय र श्रीलंकन समूदायका टिम पुग्न सफल भएका थिए । निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा नर्दन लायन्सले शक्ति लायन्सलाई १ सय १४ रनको लक्ष्य पछ्याउँदै पराजित गर्न सफल भएको हो । टस जितेर पहिले व्याटिंग रोजेको शक्ति लयन्सले २० ओभरमा १ सय १४ रनको लक्ष्य दिएको थियो । १७ ओभर र तीन विकेटको क्षतिमा नै नर्दन लायन्सले उक्त लक्ष्य पूरा गरेको थियो । प्रतियोगितामा नेपाली न्याभ टीम बीबाट बेष्ट बलर रञ्जन कँडेल घोषित भए भने बेष्ट व्याट्सम्यान नर्दन लायन्सका समन बनेका थिए । म्यान अफ द सोही टिमका म्याच रविन्द्र करुणारत्ने बन्न सफल भए । प्लेयर अफ द सिरिज शक्ति लायन्सका जतिन्दर सिंह घोषित भए । उनीहरुलाई अष्ट्रेलियाको महिला क्रिकेटकी पूर्वकप्तान जोडी फिल्डस, भिक्टोरियन मल्टिकल्चरल कमिश्नर डा. सुन्दरम शिवामलाई, डरेविन काउन्सिलकी काउन्सिलर लिना मसिना, डरेविन ईथ्नीक कम्युनिटी काउन्सिलका सुरैन सुर्यानारायण, न्याभका पूर्वअध्यषहरु रञ्जन वैद्य, बम योञ्जन, क्रिकेट भिक्टोरियाका प्रतिनिधि एवं नेपाली टिमका कोच हुसेन हनिफ, रोहित अख्तर, जेष्ठ नागरिक हर्क राईका साथै नेपाली समूदायका प्रतिनिधिहरुले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । उपाधि विजेता टिमलाई न्याभका अध्यक्ष डा. अनुपम पोखरेल र कार्यक्रमकी प्रमुख अतिथि जोडी फिल्ड्सले संयुक्त रुपमा हस्तान्तरण गरे । यसअघि नेपाली महिला क्रिकेट टिमलाई जोडी फिल्ड्सले करिब तीन घण्टा प्रशिक्षण दिएकी थिइन् । उनले एमएनटीभीसँग कुरा गर्दै तालिमले नेपाली महिला क्रिकेट खेलाडीहरुमा उत्साह थप्ने विचार राखिन् । न्याभका अध्यक्ष डा. अनुपम पोखरेलले प्रतियोगिता आगामी वर्ष पनि आयोजना गरिने र त्यसपछिको निरन्तरताको लागि पनि आफुहरुको प्रयास रहने बताए । पोखरेलले भिक्टोरियन मल्टिकल्चरल कमिशन र क्रिकेट अष्ट्रेलियाको अनुदानका साथै नेपाली समूदायको पहलमा प्रतियोगिता सफल बनेको बताए । प्रतियोगिताका संयोजक एवं उपाध्यक्ष तारा गैरेले बहुसांस्कृतिक अष्ट्रेलियन समाजमा नेपालीहरुको दरिलो उपस्थितिको सूचक यो प्रतियोगिता बनेको बताए । यसअघि प्रतियोगिताको उद्घाटनका लागि भिक्टोरियन मल्टिकल्चरल कमिशनकी कमिश्नर मिम्मी क्लाउडीन आएकी थिइन् ।