पर्वतका उम्मेदवारको घरमा सकेट बम, जाजरकोटको चुनावी सभामा आक्रमण
आसन्न स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा आज सकेट बम भेटिएको छ । नेपाली काँग्रेसका नेता जोशीको घरको भुइँतलामा रहेको उनकै कार्यालयमा प्लास्टिकभित्र राखिएको अवस्थामा बम फेला परेको हो । उक्त बम नेपाली सेनाको रणदल गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
जाजरकोटको चुनावी सभामा आक्रमण
जाजरकोटको कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा ९एमाले०को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेका बेला काँग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताउनुभयो । आक्रमणबाट एमालेका तीन कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ । उहाँका अनुसार चक्कु प्रहारबाट शेरबहादुर सिंह घाइते भएको तथा ढुङ्गा प्रहारबाट भीमबहादुर चलाउनेको बायाँ हात र सन्दिप विकको दायाँ खुट्टामा चोट लागेको छ । आक्रमणपछि औपचारिक कार्यक्रम स्थगित भएको एमालेले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।