मौन भएर मेलबर्नले सुन्यो कवि नवराज पराजुलीलाई…!
उनी कवि नवराज पराजुली । आफ्नो पृथक कविता वाचनको शैलीका कारण चर्चित बनेका यिनै नवराज पराजुली मेलबर्नमा कविता कन्सर्टमा आइपुगे आईतबार । स्टेजमा शुभेच्छा प्रधानसँगको अन्तरक्रियाबाट सुरु भएको कन्सर्टको ह्याप्पी बड्डेमा टुंगियो । माहोल मौन थियो । मेबलर्न चुपचाप उनका भावनाहरुलाई सुनिरहेको थियो । पाश्र्वमा कविको भावनाका वेगहरुसँगै चेत पुनको किवोर्ड र गिटार अनि सम्यक महर्जनको बाँसुरीको ध्वनी घुलित बन्दै थियो । मेलबर्नले सम्भवतः पहिलो पटक यसरी मौनता, गम्भीरता र सौम्यताका साथ एउटा नेपाली साहित्यकारलाई सुन्दै थियो । तडकभडकविना कवि र श्रोताबीचको भावनासेतु झन् झन् प्रगाढ बन्दै गयो । कविले जब नछोइएकी एक त्रिचालीस वर्षीय महिलाको भावना व्यक्त गरे हल पूरै भावुक बन्यो । खाडीमा पुगेको नेपाली युवाशक्तिको मनोभाव अर्को चुम्बकीय प्रस्तुति बन्न पुग्यो । मौलिक नेपाली साहित्यको सुगन्ध बोकेर आएका कवि पराजुली र उनको टिमसँगको यो भावनासेतु त्यतिबेला उत्कर्षमा पुग्यो जब उनी आमाको छोरा सम्झना प्रस्तुत गर्दै थिए । अनि भन्दै थिए,
म छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु
मर्छु जस्तो लागेको दिन तिमीलाई सम्झन्छु
सर्पले काँचुलीलाई बिर्सेको दिन म तिमीलाई सम्झन्छु
काँचुलीले सर्पलाई सम्झेको दिन म तिमीलाई सम्झन्छु
मलाई नढाँटी भन त छोरा
आज तिम्रो जन्मदिनमा तिमीले मलाई सम्झ्यौ ?
कन्सर्टअघिको अन्तरक्रियामा उनले यो कविता लेख्ने कवि आफु नभएको बताए । उनले हरेक पटक कविता वाचन गर्दा त्यही कविता लेख्ने कविसम्म पुग्ने आफ्नो प्रयास हुने गरेको पनि सुनाएका थिए । कन्सर्ट सकिँदै गर्दा उपस्थित मेलबर्नवासी हातमा सगरमाथाको गहिराई कविता संग्रह अनि मनमा भावना केही छालहरु बोकेर घर फर्किदै थिए । कार्यक्रमको आयोजना साहित्य संगीत जमघट, नेप्लीज एशोसिएसन अफ भिक्टोरिया र सोलांगचरले संयुक्त रुपमा गरेको थियो ।