कमनवेल्थ, न्याब बैंकले हटायो एटीएम फी, अन्य ठूला बैंक पनि पछ्याउँदै


अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंक कमनवेल्थ बैंकले आफ्नो एटीएमबाट अन्य अष्ट्रेलियन बैंकका ग्राहकले पैसा निकाल्दा पनि कुनै शुल्क नलिने भएको छ । अब तपाईंहरुले कमनवेल्थ बैंकका कुनैपनि एटीएममा अन्य अष्ट्रेलियन बैंकको कार्डबाट पैसा निकाल्न सक्नुहुनेछ । यसरी पैसा निकाल्दा यसअघि २ डलर अतिरिक्त शुल्क लाग्ने गरेको थियो । अन्तर बैंक एटीएम प्रयोगलाई बढावा दिन र ग्राहकसहित पूरै अष्ट्रेलियन समूदायकै हितमा कमनवेल्थ बैंकले गरेको यो निर्णयपछि एएनजेड बैंक, न्याब र वेष्टप्याकले पनि यस्तै निर्णय गर्न लागेका छन् । वेष्टप्याक बैंकका कार्यकारी जर्ज फ्राजीजले भनेका छन्, “हामी पनि हाम्रो बैंक अथवा अन्य अष्ट्रेलियन बैंकका ग्राहकहरुलाई यस्तो सुविधा दिने विषयमा सोचिरहेका छौं ।”

छिट्टै यस विषयमा निर्णय आउनेछ । यसैबीच, अक्टोबर महिनाबाट एएनजेड बैंकले पनि अन्तरबैंक एटीएम शुल्क हटाउने घोषणा गरेको छ । बैंकका कार्यकारी फ्रेड होल्सनले ग्राहकहरुको चाहनाकै आधारमा आफुहरुले यस्तो निर्णय गरेको बताएका छन् । बैंकहरुको यस किसिमको निर्णयले मुख्यतः अष्ट्रेलियाका क्षेत्रीय शहरहरु र ग्रामीण क्षेत्रमा बस्नेहरु बढी लाभान्वित हुनेछन् । यसका साथै कुनैपनि बैंकको एटीएम खोज्दा भौंतारिनुपर्ने अवस्थाको समेत अन्त्य हुनेछ । यसैबीचमा न्याब बैंकले पनि अन्तरबैंक एटीएम शुल्क हटाउने घोषणा गरेको छ । बैंकले यस निर्णयबाट लाखौं अष्ट्रेलिया निवासी लाभान्वित हुने आशा व्यक्त गरेको छ । रिजर्भ बैंक अफ अष्ट्रेलियाका अनुसार गएको वर्ष मात्र २ करोड ५० लाख पटक आफ्नो बाहेकको बैंक एटीएमबाट पैसा निकाल्ने कार्य भएको थियो । यसलाई नै आधार मान्दा पनि बैंकका ग्राहकको करोडौं डलर जोगिने सजिलै अनुमान गर्न सकिन्छ । अष्ट्रेलियाका वित्तिय कम्पनीहरुले मात्रै वार्षिक ५ सय मिलियन डलर एटीएमको यस्तै शुल्कबाट मात्रै कमाइरहेका थिए । यसैबीच, सरकारले पनि यो निर्णयको स्वागत गर्दै ग्राहकलाई बढी सुविधा दिलाउनका लागि आफुहरु प्रयत्नशील रहेको जनाएको छ । उता उपभोक्ताहरुले अन्य बैंकहरुलाई पनि यस्तै निर्णय गर्न आग्रह गरेका छन् । उपभोक्ता समूह च्वाईसले एक विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, “हामीले हाम्रै पैसा निकाल्दा किन त्यसको थप पैसा तिर्ने ? यो पुरानो मोडल हो र बेलायतले सफलतापूर्वक निःशुल्क एटीएमको नेटवर्क सञ्चालन गरेर उदाहरण प्रस्तुत गरिसकेको छ । अन्य बैंकहरुले पनि यो निर्णय छिट्टै गर्नुपर्छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?