गोर्खाली कप क्रिकेटको उपाधि रोयल राईनोज क्लबलाई, सुनम गौतम म्यान अफ द सिरिज


गोर्खाली क्रिकेट क्लबको आयोजनामा मेलबर्नमा सम्पन्न प्रतियोगिताको उपाधि रोयल राईनोज क्रिकेट क्लबले जीतेको छ । २० ओभरमा खेलाइएको खेलमा सगरमाथा क्रिकेट क्लबलाई १८ दशमलब २ ओभरमा पराजित गर्दै रोयल राईनोजले उपाधि चुमेको हो । निर्धारित खेलमा १ सय २१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको रोयल राईनोजले तीन विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । यससँगै रोयल राईनोजले यसै वर्ष दुई उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । क्लबका मुकेशले २ विकट लिएका थिए भने क्याप्टेन सुनम गौतमले ५१ भन्दा बढी रनमा साझेदारी गर्दै टीमलाई विजयी तुल्याएका थिए । प्रतियोगितामा बेष्ट व्याट्सम्यान सगरमाथा क्रिकेट क्लबका असीम सुवेदी बन्न सफल भए उनले प्रतियोगितामा १ सय ५० रन बनाएका थिए । यस्तै बेष्ट बलर रोयल राईनोजका चिरञ्जीवी बन्न सफल भए भने बेष्ट फिल्डरको उपाधि कमलेश सोही क्लबका कमलेश घिमिरेले प्राप्त गरे । यस्तै बेष्ट विकेट किपर सगरमाथाका सुसन गुरुङ बन्न सफल भए । प्रतियोगिताको म्यान अफ द सिरिज रोयल राईनोज क्रिकेट क्लबका क्याप्टेन सुनम गौतम घोषित भए । स्थानीय प्रेस्टनको टीडब्लू ब्लेक पार्कमा सम्पन्न प्रतियोगितामा खेलाडीहरुको उत्साह बढाउनका लागि भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने सहित समूदायका अगुवाहरु उपस्थित थिए । अक्टोबर २३ र २४ गरी दुई दिन सञ्चालित प्रतियोगिताको लागि हिमालयन क्लबले मैदान उपलब्ध गराएको आयोजकमध्येका एक मोहम्मद अश्लमले जानकारी दिए । सन् २०१६ मा स्थापना भएको गोर्खाली क्रिकेट क्लबले एक वर्षकै अवधिमा विभिन्न प्रतियोगितामा सहभागी मात्र भएको छैन गोर्खाली कप क्रिकेट नै आयोजना गरेर नेपाली समूदायलाई खेलको माध्यमबाट एकताबद्ध बनाउने अभियानमा अघि बढाएको छ । क्लबले केही समय अघि टेबल टेनिस प्रतियोगिता पनि सञ्चालन गरेको थियो जसमा ३० भन्दा बढी सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?