घाटबेसी दुर्घटनामा मृतकको संख्या ३० पुग्यो, २० को सनाखत, तीव्र गति दुर्घटनाको कारण
धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीको बाँंङ्गेको घुम्तिमा आज बिहान भएको दुर्घटनामा मृतकको संख्या ३० पुगेको छ । उद्धार कार्य जारी रहेको मृतकमध्ये २० जनाको सनाखत भएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–६ की ३५ वर्षकी सिसिपीकुमारी झा, वडा नंं ३ का ३८ वर्षका रञ्जितकुमार झा, वडा नंं १ का ३३ वर्षीय अञ्जितकुमार झा, बोदेबर्साइन गाउँपालिका–२ का छ वर्षीय आदित्य यादव, सोही गाउँपालिका वडा न।ं ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरेयाका २४ वर्षीय रामान्द यादव, २५ वर्षीय पार्वती यादव र तीन वर्षीय सुशन चौधरी हुनुहुन्छ । दुर्घटनामा मृत्यु भएका गाडी सहचालक सप्तरी देउरीमरुवाका नरेश मुखिया, राजविराज नगरपालिका–१६ का ७४ वर्षीय चन्द्रावती झा, सिरहा गोलबजार–८ का ५० वर्षीय राजकुमार यादव, भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।
यसैगरी सप्तरी जिल्ला कृष्णबसरन गाउँपालिका–४ का २८ वर्षीय सुधिरा यादव, सोही स्थानका पाँच वर्षीया सदीक्षा यादव, सप्तरी बसेजका ३० वर्षीय सुरेन्द्र चौधरी, बोदेबर्सान गाउँपालिका–२ का अस्कीकुमारी यादव, राजविराज नपा–१३ का ऋषि आनन्ददेव, सिरहा नपाका ३० वर्षीय उदय मण्डल, सप्तरी महादेवा गाउँपालिका–९ की प्रमोद इसार, राजविराज नगरपालिका–१४ का २० वर्षीय आदित्य झाको सनाखत भएको छ । दुर्घटनापछि अहिले साँझसम्म उद्धार कार्य भइरहेको छ । दुर्घटनाका मृतकको संख्या ३० जना पुगेको छ । १० जनाको अझै सनाखत भएको छैन । सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएपछि १५ जनाको उद्धार गरिएको थियो । घाइतेमध्ये सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक गतिका कारण बस दुर्घटनामा परेको बताइएको छ । घाइते यात्रु मनोजकुमार ठाकुरले भन्नुभयो, “तीव्र्र गतिका कारण बसेको सिटमा अडिएर बस्न समेत समस्या भएको थियो ।” उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, स्थानीयवासी र नेपाल रेडक्रस परिचालन भएका छन् ।
धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङ बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सप्तरी जिल्लाको राजविराजबाट काठमाडौँतर्फ आइरहेको ना ६ ख १४६७ नंको बस धादिङको गजुरी नजिक बाङ्गेमोडमा दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले एक शोक सन्देश दिनुहुँदै सो घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिनुभएको छ ।
बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द हुने
राजविराजबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिनुभयो । सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग आज साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताउनुभयो । यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा (एमाले) सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गर्नुभएको छ । दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ । यस्तै एमालेले पनि सप्तरीले पनि मृतकप्रति श्रद्वाञ्जलि व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
धादिङ बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेँसीस्थित त्रिशुली नदीमा आज विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
त्रिशूली बस दुर्घटनाप्रति एमाले र माओवादी केन्द्र दुःखित
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज विहान धादिङको त्रिशूली नदीमा भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । त्रिशूली नदीमा भएको बस दुर्घटनामा परी दिवंगत हुनुभएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति दुवै पार्टीले गहिरो समवेदना प्रकट गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज एक शोक वक्तव्य प्रकाशित गर्नु भई शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जारी गर्नुभएको शोक वक्तव्यमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्न, घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्ने दिशामा गम्भीर पहल गर्न सरकारसँग माग गर्दै उद्दार र उपचारको आवश्यक पहल गर्न पार्टी पक्तिलाई निर्देशनसमेत दिनुभएको छ ।