नेपालको झण्डा बोक्दै मेलबर्नको रेनेगेड्स च्याम्पियन्स लिगको यात्रामा १६ नेपाली ठीटाहरु
अष्ट्रेलियाको प्रतिष्ठित मेलबर्न रेनेगेड्स च्याम्पियन्सीपको यो वर्षको संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै १६ युवाहरुले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको दक्षिण एशियाली टीमहरुमध्ये नेपालको प्रतिनिधित्व गर्दै क्याप्टेन सुनम गौतमको नेतृत्वमा उपकप्तान असिम सुवेदी, सुसन गुरुङ, राजकुमार गुरुङ, विश्वास मानन्धर, रोशन पौडेल, सजेन्द्र श्रेष्ठ, चिरञ्जीवी न्यौपाने, सुरज श्रेष्ठ, कुशल तुलाधर, मनीष खकुरेल, अनिल खनाल, केशव पन्त, किरण कँडेल र निरज श्रेष्ठ छन् । उनीहरुले यो टिममा समावेश हुनका लागि छुट्टै छनोट चरण पार गर्नुपरेको थियो । टिम म्यानेजर नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष तारा गैरे छन् । नेपालको प्रतिनिधित्व गरेर अष्ट्रेलियाको प्रतिष्ठित प्रतियोगितामा खेल्ने अवसर पाएकोमा युवाहरु दंग छन् । उनीहरुले १२ नोभेम्बरका दिन बंगलादेशको सामना गर्नेछ भने १९ तारिखका दिन भारतसँग खेल्नेछ । यस्तै डिसेम्बर तीनका दिन नेपालले पाकिस्तानसँग खेल खेल्नेछ । यी खेलमा हासिल गर्ने जीतका आधारमा पहिलो हुने टिमले अन्य स्टेटबाट यसैगरी फाइनलमा पुगेका टिमहरुसँग प्रतिस्पर्धा गर्नेछन् । देशको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा गैरे लगायत सबैजना दंग छन् । केही सुखद परिणाम निकाल्ने उनीहरुको प्रयास छ । मेनेजर गैरे भन्छन्, “नोभेम्बर १२ को दिन पहिलो खेल हामीले बंगलादेशसँग खेल्दैछौं । हाम्रा सबै खेलमा यहाँ रहेका नेपालीहरुले झण्डासहित उपस्थित भएर हाम्रो हौसला बढाउनुहुनेछ भन्ने अपेक्षा छ ।”
मेलबर्न रेनेगेड्सले हरेक वर्ष बिग बास क्रिकेट प्रतियोगिता पनि आयोजना गर्दछ । उक्त प्रतियोगितामा सहभागी अष्ट्रेलियन टिमहरुले च्याम्पियन्स लिगमा खेलेका खेलाडीहरुलाई समेत ‘कम्युनिटी रकी’मा लिनसक्ने सम्भावना रहन्छ । दक्षिण एशियाका आठ देशमध्ये क्रिकेट खेल्ने ६ देश नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र श्रील्ंकालाई सहभागी गराएर प्रतियोगिता सञ्चालन गरिएको यो पहिलो पटक हो ।