मंगलबार राजदूत शेर्पाले न्यूजिल्याण्डमा पनि ओहोदाको प्रमाणपत्र पेश गर्दै, एनआरएनको स्वागत सम्मान


अष्ट्रेलियाकालागि नेपाली राजदूत लक्की शेर्पाले मंगलबार न्यूजिल्याण्डको राजधानी वेलिंगटनमा आफ्नो ओहोदाको प्रमाणपत्र त्यहाँका गभर्नर समक्ष पेश गर्दै हुनुहुन्छ । अष्ट्रेलियाको लागि नेपाली राजदूत नै न्यूजिल्याण्डको समेत गैरआवासीय राजदूत रहने चलन छ । यसअघि शनिबार राजदूत शेर्पाको सम्मानमा एनआरएन न्यूजिल्याण्डले स्वागत र रात्रिभोजको आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित न्यूजिल्याण्डवासीलाई दूतावासको सेवामा कुनै कमी हुन नदिने प्रतिबद्धता राजदूत शेर्पाले व्यक्त गर्नुभएको छ । न्यूजिल्याण्डमा नेपालीले प्राप्त गरेको शीप र ज्ञानलाई नेपालमा लैजान सके नेपालको समेत विकासमा केही योगदान दिन सकिने विचार राजदूत शेर्पाको थियो । उक्त अवसरमा राजदूत शेर्पाले नेपालप्रेमी जून हिलारीलाई सम्मान गर्नुभएको थियो भने कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया उपसंयोजक लोकनाथ पौडेलले एनआरएन सदैव दूतावासँग हातेमालो गरेर अघि बढ्न तत्पर रहेको बताउनुभएको थियो । एनआरएन प्रवक्ता विष्णु रेग्मीबाट प्राप्त जानकारी अनुसार उक्त अवसरमा एनआरएनका पूर्वअध्यक्ष बाबुराजा महर्जन, आईसीसी सदस्य रेवत बस्नेत, न्यूजिल्याण्ड नेप्लीज एशोसिएसनका कोषाध्यक्ष मुकुन्ददेव अधिकारी, श्रीभक्त सिवाहंग, नेप्लीज कल्चर सेन्टरका अध्यक्ष कमलप्रसाद श्रेष्ठ लगायतले नेपाल र न्यूजिल्याण्डको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन राजदूत शेर्पाको कार्यकालमा ठोस कामहरु हुने आशा व्यक्त गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै न्यूजिल्याण्ड नेपाल सोसाईटी र न्यूजिल्याण्ड नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष दिनेश खड्काले अर्को वर्ष नेपाल फेष्टिभल आयोजना गरी नेपाली कला, संस्कृति, खाना, रहनसहन र संगीतलाई न्यूजिल्याण्डवासीमाझ प्रस्तुत गर्न लागिएकोमा दूतावासको तर्फबाट पनि सक्रिय सहभागिताको लािग आह्वान गर्नुभएको थियो । न्यूजिल्याण्डमा भएको प्रविधि चेम्बर अफ कमर्श मार्फत नेपालमा लैजाने कार्यमा सहकार्य हुनसक्ने खड्काको भनाई थियो । एनआरएन न्यूजिल्याण्डका कार्यवाहक अध्यक्ष घनश्याम सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा ओमन फेरम न्यूजिल्याण्डकी संयोजक दिलु रिमाल र सचिव रेणु कार्कीले स्वागत गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेप्लीज एशोसिएसन बे अफ प्लेन्टीका संरक्षक पिटर गिब्सले आफ्नो भनाई राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?