पूर्वडीआईजी नवराज सिलवालको माग, प्रहरीले हैन स्वतन्त्र निकायले छानविन गर्नुपर्छ


पूर्वडीआईजी नवराज सिलवाललाई प्रहरी कार्यालयमा उपस्थित हुन पूर्जी जारी गरेपछि उनी पक्राउ पर्ने सम्भावना बढेर गएको छ । सर्वोच्च अदालतले कार्य सम्पादन मूल्यांकनको कीर्ते प्रस्तुत गरेको विषय र त्यसलाई बाहिर ल्याउनेहरुको विषयमा छानविन गर्न आदेश दिएपछि प्रहरीमार्फत नवराज सिलवाललाई झिकाउने निर्णय भएको हो । तर, यतिबेला सिलवाल मलेसियामा छन् । एक कार्यक्रमको सिलसिलामा देश बाहिर गएको भनिएका सिलवाल मलेसियामा रहेकै बखत उनका विरुद्ध पक्राउ पूर्जी जारी गर्नुले उनलाई देश आउन नदिने नियत देखिएको छ । नवराज सिलवालले भने प्रहरीकै अधिकारीहरुको मिलेमतोमा कार्य सम्पादन मूल्यांकन विवरण हेरफेर गरिएको हुनाले प्रहरीले नै यसको अनुसन्धान गर्न नमिल्ने बताएका छन् । मेरो र अहिलेको आईजीपीको यो केसमा विरोधी पक्षकै नेतृत्वमा रहेको संगठनले कसरी अनुसन्धान गर्न मिल्छ ? यो प्राकृतिक न्यायको सिद्धान्त विरुद्ध हुने उनको दावी छ । सिलवाल नेपाल फर्किएको अवस्थामा प्रहरीले पक्राउ गर्ने र अनुसन्धान अघि बढ्ने सरकारी श्रोतले बताएको छ । तर, पक्राउ परेकै आधारमा उनको सांसद पद भने केही हुँदैन । यदि अनुसन्धानबाट उनी दोषी ठहर भएमा भने उनी सांसद बन्न लायक रहने छैनन् । सिलवाल पक्षका व्यक्तिहरुले भने वर्तमान सरकारले मनलाग्दी रुपमा तेश्रो वरियतामा रहेको व्यक्तिलाई प्रहरी प्रमुख बनाएको र पहिलो नम्बरको व्यक्तिलाई लेखेटेको बताएका छन् । उनीहरुले अहिलेको सरकारले चुनाव हारेको रीस एक व्यक्तिमाथि पोखेको पनि उनीहरुले प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?