सांसदको प्रमाणपत्र नपाएपछि रेशम चौधरीले अदालतमा गरे समर्पण, बयान लिइँदै
टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् ।
फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले बिजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् । वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन । उनलाई अदालतले निर्दोष भए अदालतमा उपस्थित हुन र आफ्नो कुरा राख्न आदेश दिएको थियो । उनी यही आदेशलाई मान्दै यतिबेला आत्मसमर्पण गर्ने निर्णयमा पुगेका हुन् । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् । चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।