मेलबर्नमा कँडेल कन्सल्टेन्सी कप २०१८ सुरु, आज फाईनल, कसले मार्ला बाजी ?
अष्ट्रेलियाको राष्ट्रियस्तरको कँडेल कन्सल्टेन्सी कपको आठौं संसकरण शनिबारबाट मेलबर्नमा सुरु भएको छ । प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यबाट २४ क्लबहरुले सहभागिता जनाएका छन् । १६ क्लबले खुला प्रतिस्पर्धा गर्नेछन् भने बाँकी ८ क्लबले ३५ वर्षमाथि उमेर समूहको खेलमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुको क्लबको सहभागिताबाट आपसी भाईचारा बृद्धिमा सहयोग पुग्ने विश्वास आयोजक यति क्लबले लिएको छ । शनिबार १४ खेल सम्पन्न भएका छन् । आईतबार पनि बाँकी १४ खेल खेलाइने भएको छ । विहान १० बजदेखि सुरु हुने प्रतियोगिता साँझ ५ बजेसम्म सकिने र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने यति फुटबल क्लबले जनाएको छ । शनिबार सम्पन्न भएका खेलहरुपछि आईतबार नै बाँकी क्लबका खेलका साथै सेमिफाईनल, फाईनलको प्रतिस्पर्धा पनि गरिनेछ । यस प्रतियोगिताको चार समूहमा ग्रुप एतर्फ यति क्लब रातो, डाँफे फुटबल क्लब, सम्रिक फुटबल क्लब र रोयल फुटबल क्लब रहेका छन् । यस्तै समूह बीमा माछापुच्छ्रे फुटबल क्लब, सगरमाथा फुटबल क्लब, युनाईटेड फुटबल क्लब, अष्ट्रेलिया ड्रूक फुटबल क्लब, ग्रुप सीमा बेनी फुटबल क्लब, फेवा फुटबल क्लब, रोयल वेष्टर्न फुटबल क्लब, अष्ट्रेलियन भुटनीज ड्रागन फुटबल क्लब, रहेका छन् । ग्रुप डीमा यति ब्लू, द राईजिंग गोर्खा फुटबल क्लब, हिमालयन फुटबल क्लब र क्यानबेराको सीएनफसी रहेको छ । मेलबर्नको स्थानीय क्लीफ्टन पार्कमा आयोजना गरिएको प्रतियोगिताको पहिलो हुने टिमले २५ सय डलर पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुनेले एक हजार डलर नगद पाउनेछ । प्रतियोगितास्थलमा बालबालिकाहरुको लािग सकर क्लीनिक, जम्पिंग क्यासल, हेल्थ क्लिनिक, केटीहरुको पेनाल्टी सुटआउट, खानाको स्टल समेत रहेको आयोजक यति फुटबल क्लबले जनाएको छ । यस प्रतियोगिताको मुख्य प्रायोजन कँडेल कन्सल्टेन्सीले गरेको हो । कन्सल्टेन्सीका निर्देशक राज कँडेल रहेका छन् ।