जब नेपाल भारत सहयोग लेखिएको गाडीमा फर्कियो नेपाली क्रिकेट टोली, गर्नेलाईभन्दा देख्नेलाई लाज !
सोमबार राति नेपाली क्रिकेट टोली स्वदेश फर्कियो । एकदिवसीय मान्यता पाएको टोलीको स्वागतका लागि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । स्वागत, उत्सव त ठीकै थियो । तर, घर जाँदै गर्दाको एक दृश्यले भने गर्नेलाई भन्दा देख्नेलाई लाजको अवस्था ल्याइदियो । फोटोमा हेर्नुस् त कम्तिमा राष्ट्रिय टोलीलाई स्वागत गर्नका लागि ल्याइएको गाडी त नेपालको आफ्नै हुनुपर्ने । यो गाडी भारतले उसको स्वतन्त्रता दिवसको दिन उपहार स्वरुप दिएको थियो । गाडीमा लेखिएको छ नेपाल भारत सहयोग । सहयोग लिनु नराम्रो कुरा होइन । तर, के कस्ता ठाउँमा त्यसलाई उपयोग गर्ने भन्ने कुराको चाहीँ ख्याल नगरेको देखियो । तपाईं के भन्नुहुन्छ ?
फेरि पनि बधाई छ नेपाली क्रिकेट टिम र प्रशंसकहरुलाई । नेपालले क्रिकेटमा धेरै गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्न पर्दैन । तर, केही व्यवस्थापकीय कार्यमा भने चुस्तता र परिवर्तन ल्याउनैपर्छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार विश्वकर्मासहित खेलकुद मन्त्रालयका पदाधिकारी तथा क्रिकेटप्रेमीलगायतले सो टोलीलाई भव्य स्वागत गरेका थिए । जिम्बाब्वेमा सम्पन्न आइसिसी विश्वकप छनोट प्रतियोगितामा नेपालले प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई पराजित गर्दै पहिलो पटक आगामी चार वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गरेको थियो । नेपालको विश्वकप खेल्ने सपना सकिएसँगै सातौँ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले एक दिवसीय मान्यता पाउने पक्का भएको थियो । दश देशको सहभागिता रहेको विश्वकप छनोट प्रतियोगितामा दुई खेल जितेको नेपाल आठौँ स्थानमा रह्यो । नेपाली टोलीका कप्तान पारस खड्काले सबैको मेहनतले एक दिवसीय मान्याता पाउन सफल भएको उल्लेख गर्दै अबको सपना विश्वकप रहेको बताउनुभयो । नेपाली क्रिकेटप्रेमीले क्यान विवाद तत्काल समाधान गर्नुपर्ने, मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने, खेलाडीलाई सुविधा दिनुपर्नेलगायत माग राख्दै विमानस्थलभित्रै केही समय नाराबाजीसमेत गरेका थिए ।