क्यानबेरामा २०२० मा भेट्ने बाचासहित सकियो नेपाली स्पोर्टस मिट, न्यूसाउथवेल्स र भिक्टोरियाको बर्चश्व
आगामी सन् २०२० मा क्यानबेरामा भेट्ने बाचासहित सिड्नीमा आयोजना गरिएको ओसेनिया नोपली स्पोर्टस मिट सम्पन्न भएको छ । यस पटकको प्रतियोगितामा अष्ट्रेलियाका सबै राज्यका साथै, न्यूजिल्याण्ड, पपुवा न्यूगिनीबाट समेत खेलाडीहरु सहभागी बनेका थिए । पहिलो पटक न्यूजिल्याण्ड सहभागी भएकोमा यस पटक नै उसले २ वटा गोल्ड मेडल हात पार्न सफल भएको छ । तर, समग्र मेडल तालिकामा न्यूसाउथवेल्स १६ भन्दा बढी गोल्ड मेडलका साथ प्रथम बनेको छ । यस्तै भिक्टोरिया १३ भन्दा बढी गोल्ड मेडलका साथ दोश्रो बनेको छ । क्वीन्सल्याण्डले भने २ वटा मात्रै गोल्ड मेडल हात पार्न सफल भयो । साउथ अष्ट्रेलिया तीन सिल्भर मेडलमै चित्त बुझाउन बाध्य भयो भने क्यानबेराले एक सिल्भर र दुई ब्रोन्ज गरी तीन मेडल हात पार्न सफल भयो । नर्दन टेरेटरी, पपुवा न्यूगिनी, तास्मानिया, वेष्टर्न अष्ट्रेलिया शून्य मेडलसहित तालिकाको पुछारमा रहन पुगे । विभिन्न ९ विधामा खेल खेलाइएको र यसका पनि ३२ सबक्याटेगोरी रहेको संयोजक विष्णु हमालले जानकारी दिनुभयो । ओसेनिया क्षेत्रका ८ सयभन्दा बढी खेलाडीको सहभागिता रहेका प्रतियोगितामा क्रिकेटको उपाधि न्यूसाउथवेल्स ब्लूले जित्न सफल भएको थियो । यस्तै बास्केटबलको उपाधि पनि न्यूसाउथवेल्स ब्लूले नै हात पार्न सफल भयो । फुटबल पनि न्यूसाउथवेल्सको बेनी फुटबल क्लबको पोल्टामा पुगेको भएपनि टेबल टेनिस, व्याडमिन्टन, गल्फमा भने भिक्टोरियाको दरिलो उपस्थिति थियो । प्रतियोगिताको संयोजक मध्येकै एक जविन श्रेष्ठले अत्यन्तै व्यवस्थित रुपमा खेलहरु सञ्चालन भएकोमा खुशी व्यक्त गरे । प्रतियोगितापछि आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाका लािग नेपाली राजदूत लक्की शेर्पा सहभागी थिइन् भने एनआरएन आईसीसी अध्यक्ष भवन भट्ट पनि विशेष अतिथिको रुपमा सहभागी भएका थिए । सिड्नीमा डिनरसहित आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रायोजकहरुलाई पन िविशेष सम्मान गरिएको थियो । प्रतियोगिताका अलग अलग खेलमा अलग अलग व्यवसायिक घरानाहरुले स्पोन्सर गरेका थिए ।