प्रहरीतर्फको सबै सेटिंग मिलाउने श्याम खत्री अदालतमा टुप्लुक्क, कता पुग्यो करोडौं खाएको ?
सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका छन् । प्रहरीको उच्च तहमा रहेर विमानस्थलबाट सुन पास गराउने उनी मुख्य योजनाकार भएको यसअघिका बयानकर्ताहरुले बताएका छन् । प्रहरी सामू आत्मसमर्पण गर्न अघि सरकारले उनको नाममा डिफ्यूजन नोटिस जारी गरेको थियो । उनी पनि भारतमा लुकेर बसेको र त्यहाँ बस्न गाह्रो हुने भएपछि नेपाल आएको अनुमान छ । उनी जिल्ला अदालत मोरङमा उपस्थित भएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी गराउनुभयो । सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए । सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ । खत्रीको आत्मसमर्पणपछि उनीसँग छानविन समिति र अदालत दुबैले बयान लिने भएका छन् । छानविन समितिसँग पहिला नभेट्ने गरी उनी अदालत पुगेका हुन् । अदालतमा बयान दिँदा न्यायाधीश सामू दिने र कतिपय विषयमा छल्न सकिने तयारीका साथ उनी आएको एक अपराध अनुसन्धानकर्ताले बताए । नेपाल प्रहरीलाई बदनाम गर्ने यी अधिकारीको वास्तविकता केही दिनमा नै खुल्ने देखिन्छ । यसअघि गोरे भनिने चुडामणि उप्रेतिले अदालतमा आफुले कमिशनवापत लिएको, तस्करीबाट कमाएको सबै खर्च गरिसकेको भनेर बयान दिएजस्तै यिनले पनि सबै पैसा बाँडीसकेको भनेर पानीमाथि ओभानो हुने त होइन ?