आर्थिक संकटमा एनआरएन अष्ट्रेलिया, अघिल्लो नेपाल महोत्सवकै ३५ हजार डलर बजारमा बक्यौता


गैरआवासीय नेपाली संघ अष्ट्रेलिया यतिबेला चरम आर्थिक संकटमा छ । संस्थाका पदाधिकारीहरु नियमित कामका लागि समेत फन्ड नभएको गुनासो गर्दछन् । तर, बजारबाट ३५ हजार डलरभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको नयाँ तथ्यांक सार्वजनिक भएको छ । एनआरएन अष्ट्रेलियाले यसअघि सिड्नी र मेलबर्नमा गरेको नेपाल महोत्सवमा प्रायोजन गरेवापतको यतिधेरै रकम बक्यौता रहेको खुलेको हो । एनआरएन अष्ट्रेलियाका प्रवक्ता एवं पूर्वकोषाध्यक्ष डिला खरेलका अनुसार एनआरएन अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा २०१६ मा आयोजना गरिएको नेपाल महोत्सवमा १ लाख २१ हजार ३ सय विभिन्न शीर्षकमा आम्दानीका रुमा दर्ज भएपनि यसमध्ये ९४ हजार ९ सय डलर मात्रै उठेको हो । बजारबाट उठ्न बाँकी २६ हजार बक्यौता रहेको छ । यस्तै एनआरएन अष्ट्रेलियाले मेलबर्नमा आयोजना गरेको नेपाल फेष्टिभलको पनि उठ्न बाँकी रहेको रकम ९ हजार डलर रहेको छ । एनआरएनका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक केशव कँडेलले नयाँ महोत्सवको तयारी सुरु भएको बताए । “पुरानो बक्यौताका सम्बन्धमा पनि हामी उठाउने प्रयास गरिरहेका छौं”, उनले भने । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अच्युत शर्मा थपलिया आफुलाई बक्यौता रकमबारे यसअघिको कोषाध्यक्षले कुनै बुझ बुझारथ नगरेको बताउँछन् । “अहिलेको आर्थिक पक्षबारे म बोल्न सक्छु । तर, यसअघि कति थियो, कति उठ्न बाँकी हो भन्ने विषयमा मैले केही बताउन सक्दिन । मलाई नै केही हिसाब दिइएको छैन कसरी बुझाउने होला ।” कोषाध्यक्षको यस्तो भनाई आइरहँदा हामीले ब्रिसबेनमा आयोजना गरिएको नेपाल महोत्सवको बाँकी बक्यौता कति छ भनेर उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक सन्तोष कुँवरलाई सोधेका थियौं । उनले ब्रिसबेनमा यसअघि नेपाल महोत्सव आयोजना गर्दा कबोल गरेको प्रायोजन रकम सबै उठिसकेको जानकारी दिए । उता एडिलेडमा भने उपाध्यक्ष अशोक केसीले नेपाल महोत्सवको बकयौताका विषयमा आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । यसअघिका संयोजक नवीन कँडेललाई हामीले सम्पर्क गरेको थियौं । उनले बक्यौता रकम नरहेको प्रतिक्रिया दिए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले बक्यौता रकममध्ये केही मौखिक समझदारीमा समेत प्रायोजन गरेका कारण उठाउन नसकिएको बताए । उनले सकेसम्म छिटो बक्यौता रकम उठाउने आफुहरुको प्रयास रहेको बताए । एनआरएन अष्ट्रेलियाले वाक फर वेलफेयर कार्यक्रम आयोजना गरेर अष्ट्रेलियाभर अभियान गर्दा जम्मा ४० हजार डलर उठेको थियो । यता नेपाल महोत्सवको बक्यौता नै ३५ हजार डलर रहेको देखिएपछि आर्थिक पक्षमा प्रभावकारी कदम आवश्यक देखिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?