मोबाईल फोनमा बालबालिकाको अश्लिल दृश्य राखेका विद्यार्थी पर्थको विमानस्थलमै पक्राउ


अष्ट्रेलियाको पर्थमा पढ्नका लागि भारतबाट आएका एक विद्यार्थी विमानस्थलबाटै पक्राउ परेका छन् । विमानस्थलमा चेकजाँचका क्रममा उनको फोनमा प्रहरी अधिकारीहरुले ठूलो मात्रामा बालबालिकाहरु संलग्न रहेको यौनजन्य तस्वीर र भिडियोहरु भेटेपछि निजलाई पक्राउ गरिएको हो । नाम नखुलाइएका ति विद्यार्थी २१ वर्षको भएको प्रहरीले जनाएको छ । प्रहरीले निजलाई अनधिकृत आयातको अपराधमा दोषी मानेको छ । उसको भिसा रद्द गरिएको प्रहरीले जनाएको छ । अष्ट्रेलियन बोर्डर फोर्सका कमान्डर रोड ओडेनियकलले भने, “हाम्रा अफिसरहरु यस्ता व्यक्तिहरुलाई चिन्ने मामिलामा पोख्त छन् । प्रतिबन्ध लगाइएका सामग्रीहरु लिएर आउनेहरुलाई उनीहरुले सजिलै चिन्छन् । समूदायलाई खतरा हुनसक्ने यस्ता व्यक्तिहरु चिन्ने मामिलामा सीमा सुरक्षामा खटिएका अफिसरहरुलाई विशेष तालिम दिइएको हुन्छ ।” बाल यौन शोषण र यौनजन्य हिंसा गर्ने व्यक्तिहरुलाई विमानस्थलमै रोक्ने र समूदायलाई सुरक्षित गर्नु उनीहरुको कर्तव्य अन्तर्गत पर्दछ । भारतबाट आएका यी व्यक्ति यो महिनाभित्र यस्तै घटनामा पक्राउ परेका दोश्रो व्यक्ति हुन् । गएको अक्टोबर ३ तारिखका दिन पनि एक ३२ वर्षीय पाकिस्तानीलाई पर्थको विमानस्थलमै पक्राउ गरिएको थियो । उसले पनि बालबालिकाहरु संलग्न भएको यौनजन्य तस्वीर र भिडियोहरु बोकेको थियो । पछिल्लो समय पक्राउ परेका व्यक्तिको सुनवाई आगामी अक्टोबर २६ तारिख शुक्रबारका दिन हुनेछ । यस किसिमको अपराधमा संलग्न व्यक्तिलाई १० वर्षको जेल सजाय र ५ लाख २५ हजार डलरसम्मको जरिवाना हुन सक्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?