सय दिन पुग्यो बलात्कार र हत्याको, निर्मला पन्तको अपराधी अझै भेटिएन
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको आज सय दिन पुरा भएको छ तर सजायको त के कुरा अपराधीसम्म पत्ता लाग्न सकेको छैन । घटनाको विरोधमा नहुने कोही पन िछैन । तर, अपराधी भेटिदैन । अनुसन्धान गर्न टोलीमाथि टोली छन् तर अपराधी पाइदैन । केही भेटिन्छ कि भनेर आशा गरिएको सीसीटिभी फुटेज पनि नभेटिएपछि अझ अर्को आशंकाका रेखाहरु बढेका छन् ।
घटनाको अनुसन्धानमा गम्भीर लापर्बाही गरेको भन्दै सरकारले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ भने केही प्रहरी अधिकारीहरु निलम्बित भएका छन् । निर्मला पन्तको न्यायका लागि चर्केको आन्दोलन । प्रहरीले अनुसन्धानकै क्रममा पाँच जनाको डीएनए परीक्षण गरेको छ भने थप चारको डीएनए परीक्षण गरिरहेको जनाएको छ । बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, अर्का युवक आयुष विष्ट, दिलीपसिंह विष्ट र चक्रदेव बडूको डीएनए जाँच गरिएको छ तर डीएनए परीक्षणका लागि नमुना संकलन गरिएका थप चारजनाको नाम प्रहरीले गोप्य राखेको छ ।
घटना घटेको सय दिनसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि पीडित परिवार थप निराश भएको छ । निर्मलाका आमाबुवा आफ्नी छोरीको न्यायका लागि भौतारीरहेका छन् । उनीहरुले काठमाडौँ आएर प्रधानमन्त्रीलाई समेत भेटी छोरीका हत्यारा पक्राउ गर्न आग्रह गरेका थिए । साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी बालिका निर्मला पन्तको साउन ११ गते उखुबारीमा शव भेटिएको थियो। हत्यारा पक्राउको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएपछि प्रहरीले चलाएको गोली लागेर एक बालकको ज्यान गएको थियो । प्रहरीले घटनामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन थप चर्किएको थियो। तर डिएनए परिक्षण नमिलेपछि उनी अहिले हिरासत मुक्त भइसकेका छन् । प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक अपराधी जोगाउन खोजेको आरोप लागेको थियो । स्थानीय बासिन्दाहरुले घटनामा शक्तिशाली व्यक्तिको संलग्नता रहेकोले प्रहरीले नै अपराधीलाई लुकाएको आरोप सुरुदेखि नै लगाउँदै आएका छन् ।