पर्थमा ९५ लाख डलरको अवैध चुरोट बरामद, २५ वर्षीय युवा समातिए
अष्ट्रेलियामा चुरोटको मूल्य निकै महँगो छ । किनकी, अष्ट्रेलियाले चुरोटमा अधिकतम कर लगाउने गर्दछ । यसैकारण चुरोटको अवैध ओसार पसार दैनिक भइरहेको हुन्छ । विमानस्थलबाट कुनैपनि यात्रुले मात्र २५ खिल्ली चुरोट आफ्नो साथमा ल्याउन पाउँछ । संगठित रुपमा चुरोटको उत्पादन र तस्करी गर्ने ठूलो गिरोहलाई पर्थमा सीमा सुरक्षा फौजले पक्राउ गरेको छ । समुद्री मार्गबाट ल्याइएको एक कन्टेनरमा शंकास्पद अवस्थामा यो परिमाणको चुरोट बरामद गरिएको हो । गत ३१ अक्टोबरमा प्रहरीले चुरोट बरामद गरेपछि यसको मालिकको खोजी भएको थियो ।
सीमा सुरक्षा फौजले एक्स रेको माध्यमबाट चुरोट बरामद गर्न सफल भएको हो । दक्षिणपूर्वी एशियाबाट आएको कन्टेनरमा सुरुका केही बक्सहरु प्लाष्टिक प्यानलहरु राखिएको र त्यसपछि चुरोट लुकाएको पाइएको हो । ४० फिट लामो कन्टेनरमा ४७ हजार ५ सय कार्टुन चुरोट थियो । यस लगत्तै प्रहरीले गरेको अपरेशनमा थप ३१ हजार चुरोट बरामद गरिएको थियो । प्रहरीले यस प्रकरणमा एक २५ वर्षीय युवकलाई पक्राउ गरेको छ । थप अनुसन्धान र कारवाही अघि बढेको छ । पर्थमा यति ठूलो परिमाणमा अवैध सूर्तिजन्य पदार्थ बरामद गरिएको पहिलो घटना हो । यस घटनामा संलग्न अन्तर्राष्ट्रिय अपराधीहरुको पहिचान गर्ने कार्य पनि अघि बढेको छ । अष्ट्रेलियामा अवैध रुपमा सूर्तिजन्य पदार्थको तस्कर गर्नेलाई १० वर्षसम्मको जेल सजाय हुनसक्ने र बरामद गरिएको अवैध सामग्रीको पाँच गुणासम्म जरिवाना हुने प्रावधान छ ।