निर्मला पन्त हत्याकाण्ड, धर्नामा बसेका बुबा यज्ञराजलाई डिप्रेसन
बलात्कारपछि हत्या गरिएकी छोरीको हत्यारामाथि कारबाही माग गर्दै धर्नामा बसेका निर्मला पन्तका बुबा यज्ञराज पन्तमा डिप्रेसनको समस्या देखिएको छ । उनी शारीरिक रुपमा निकै कमजोर हुँदै गएका छन् । १३ दिनदेखि धर्नारत पन्त केही दिनदेखि डिप्रेसनको शिकार भएको चिकित्सकले शंका गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि धर्नारत पन्त बेलाबेलामा बरबराउने, रुने, गालीगलौज गरिरहन्छन् । ‘कि मलाई गोली हानेर मार, नत्र बन्दुक खोसेर हान्छु’ जस्ता अकल्पनीय शब्द बोल्न थालेको उनका आफन्तले बताए ।
पन्तको स्वास्थ्य अवस्था निकै कमजोर देखिएको निमित्त प्रजिअ शंकरबहादुर विष्टले जानकारी दिए । विष्टका अनुसार थप उपचारका लागि काठमाडौं लानुपर्ने अवस्था देखिए पनि परिवारका सदस्यले स्वीकृति दिइसकेका छैनन् । परिवार र आफन्तको स्वीकृतिपछि काठमाडांै लगेर उपचार गराउने उनले बताए । पन्त परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र सामान्य समस्याको उपचार गर्न चिकित्सक टोली धर्नास्थलमै छन् ।
साथीको घर होमवर्क गर्न १० साउनमा गएकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । बलात्कारपछि हत्याजस्तो संवेदनशील घटनामा चरम लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी र इन्स्पेक्टर बर्खास्त भइसकेका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन ।