आईतबार मेलबर्नमा एक्सपर्ट क्रिकेट फेष्टिभल, पारस खड्काले प्रशिक्षण दिने
भोलि आईतबार ३० डिसेम्बर मेलबर्नमा एक्सपर्ट क्रिकेट फेष्टिभल आयोजना हुने भएको छ । क्रिकेट फेष्टिभल स्थानीय फ्लेमिंग्टनमा रहेको डेब्ने पार्कमा विहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ । यस सम्बन्धी जानकारी दिने उद्देश्यले शुक्रबार मेलबर्न सिटीमा अवस्थित एक्सपर्टको कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा एक्सपर्टका ब्रान्ड एम्बेसडर एवं नेपाली क्रिकेटका क्याप्टेन पारस खड्काले एक्सपर्टले नेपाली क्रिकेटलाई प्रबद्र्धन गर्न खेलिरहेको भूमिकाको खुलेर प्रशंसा गरे । उनले भने, “यस किसिमको फेष्टिभलले क्रिकेट संस्कार नै रहेको अष्ट्रेलियामा रहेका नेपाली समूदायकाबिच खेल प्रबद्र्धन गर्न र आपसी भाईचारा अभिबृद्धिमा मद्दत गर्दछ । एक्सपर्टले नेपाली क्रिकेटको प्रबद्र्धन जसरी गरिरहेको छ अन्य कर्पोरेट सेक्टरले पनि यसबाट सिक्नुपर्दछ ।” कार्यक्रममा एक्स्पर्ट ग्रुपका निर्देशक सञ्जीव शर्माले अष्ट्रेलियामा उत्कृष्ट खेलिरहेका दुई खेलाडीले नेपालको एक्सपर्ट धनगढी ब्लूज क्रिकेट क्लबबाट खेल्ने अवसर पाउने बताए । यस्तै धनगढी ब्लूजमा राम्रो प्रदर्शन गर्ने दुई खेलाडीले अष्ट्रेलियामा क्रिकेटको तालिम लिने र यहाँबाट खेल्ने अवसर प्राप्त गर्ने पनि शर्माको भनाई थियो । उक्त पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका दिपेन्द्र सिंह ऐरी, सुवास प्रधान पनि सहभागी थिए । उनीहरुले यो अवसरका लागि एक्सपर्टलाई धन्यवाद दिएका थिए भने नेपालमा क्रिकेटको प्रबद्र्धनमा विद्यालय र कलेज स्तरमा सञ्चालन गरिएको प्रतियोगिताका लागि धन्यवाद दिएका थिए । एक्सपर्टले आईतबार मेलबर्नमा गर्न लागेको जस्तै क्रिकेट फेष्टिभल जनवरी ५ र ६ तारिख सिड्नीमा गर्नेछ भने जनवरी १० तारिखमा ब्रिसबेनमा र १२ तारिख एडिलेडमा पनि गर्ने तय भएको छ । क्रिकेट फेष्टिभलमा विभिन्न उमेर समूहका साथै बालबालिकाहरुलाई पनि तालिम दिइनेछ । यस्तै बार्बिक्यू र अन्तरक्रिया पनि गरिने भएको छ । क्रिकेट फेष्टिभलको पत्रकार सम्मेलनमा एक्सपर्ट मेलबर्नका निर्देशक सरोज शर्माले फेष्टिभलको तयारीबारे जानकारी दिएका थिए । उक्त अवसरमा एक्सपर्ट क्रिकेट टिमका क्याप्टेन सुनम गौतम पनि उपस्थित थिए । कार्यक्रमको सञ्चालन अजी फाईनान्स मेलबर्नका अमर राज आचार्यले गरेका थिए । फेष्टिभलमा न्याभ र भिक्टोरिएन नेप्लीज क्रिकेट एशोसिएसनले पनि सहकार्य गर्नेछ । भिडियो यहाँ हेर्नुहोस्