विद्यार्थीका समस्याबारे दूतावासमा मन्थन, अष्ट्रेलिया आउनुअघि नै सावधानी अपनाउनुपर्ने निष्कर्श


उच्च शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर दिनुअघि नै पूर्वतयारी गराउनुपर्ने निष्कर्ष सरोकारवालाहरुले निकालेका छन् । विद्यार्थीका समस्या समाधानका लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको विषयमा नेपाली दूतावास क्यानबेरामा आईतबार आयोजना गरिएको अन्तरक्रियाबाट यस्तो निष्कर्श निस्किएको हो । छलफलमा अन्तर्राष्ट्रिय विद्यार्थीका प्रतिनिधिदेखि, शैषिक परामर्शदाताहरु, कलेज सञ्चालकहरु, एनआरएन अष्ट्रेलियाका पदाधिकारीका साथै विभिन्न शहरमा रहेका नेपाली अवैतनिक महावाणिज्यदूतहरु समेतको सहभागिता रहेको छलफल कार्यक्रमपछि दूतावासले जारी गरेको विज्ञप्ति अनुसार बैठकले विभिन्न सिफारिशहरु गरेको छ । साथै, यस्तो किसिमको छलफल नियमित रुपमा गर्नुपर्ने ठम्याई पनि सहभागीहरुको थियो ।

के आयो त सिफारिश ?

नेपाली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार अष्ट्रेलिया पढ्न आउने विद्यार्थीहरुलाई जसरी यहाँको सरकारले अन्तर्वार्ता लगायतका माध्यमबाट यहाँको सामाजिक संरचना, यहाँको आर्थिक व्यवस्था, यहाँ कामको वातावरण लगायतका विषयमा पूर्ण जानकार भएको प्रत्याभूत गर्छ त्यसरी नै नो अब्जेक्सन लेटर दिनुअघि नेपाल सरकारले पनि अन्तर्वार्ताकै माध्यमबाट उनीहरुलाई अष्ट्रेलियाको विद्यार्थी जीवनशैली, आइपर्ने समस्या, समस्याको समाधानका लागि गर्नुपर्ने कार्यहरु लगायतका विषयमा स्पष्ट पार्नुपर्ने सिफारिश भएको छ । यस्तै एनआरएन अष्ट्रेलियाले विद्यार्थीका लागि तयार पारेको जानकारीमूलक पुस्तिकाको वितरण गर्ने अर्को सिफारिश पनि बैठकले गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको स्वास्थ्य बिमा गर्ने कम्पनीहरुसँग कुराकानी गरी यदि कुनै दुर्घटनामा विद्यार्थीको ज्यान गएको अवस्थामा उनीहरुको शवलाई सम्बन्धित देशमा पठाउने व्यवस्था पनि बिमा पोलिसमै समेट्न लगाउनुपर्ने सिफारिश पनि गरिएको छ । यस्तै नेपालमा रहेको अष्ट्रेलियन दूतावास र अष्ट्रेलियामा रहेको नेपाली दूतावासबीच समन्वयका साथै सूचना आदान प्रदानको संयन्त्र निर्माण गर्न पनि बैठकले सुझाएको छ । एनआरएन सहित अष्ट्रेलियामा रहेका नेपाली सामूदायिक संस्थाहरुले विदार्थी समस्यामा परेका बेला उनीहरुलाई सही सुझाव उपलब्ध गराउने, महावाणिज्यदुतको कार्यालयहरु र दूतावासमा सम्पर्क गराई उनीहरुलाई सहज वातावरण बनाउन भूमिका खेल्नपर्ने पनि बैठकका क्रममा निष्कर्श निकालिएको छ । बैठकमा सहभागीहरुले यी सिफारिश कार्यान्वयनको चरणमा लैजानका लागि निरन्तर फलोअप गर्ने र यस्तै बैठक फेरि आयोजना गर्ने सहमति जनाएको विज्ञप्तिमा लेखिएको छ । नेपाली विद्यार्थीको संख्या निरन्तर बढिरहेको, चीन र भारतपछि नेपाल तेश्रो नम्बरमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने देश भएको नाताले पनि समस्याहरुलाई गम्भीरतापूर्वक लिई विद्यार्थीका समस्या समाधान गर्नका लागि ढिलो गर्न नहुनेमा सबैको एकमत थियो ।
सिड्नी र ब्रिसबेनको एआईबिटी र मेलबर्नको ईटीइएमा नेपाली विद्यार्थीहरु मर्कामा परेपछि नेपाल सरकारलाई अष्ट्रेलिया पढ्न आउने विद्यार्थीहरुको भविष्यलाई लिएर दबाब थपिएको छ । विद्यार्थी महँगो शुल्क तिरेर पढ्न अष्ट्रेलिया आउने तर पढाई सकिएपछि उसले पाएको सर्टिफिकेट अष्ट्रेलियामै समेत नचल्ने अवस्था आएपछि यतिबेला नर्सिंगका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।
तर एआइबीटीको तनावका बिचमा अस्ट्रेलियन सरकारको शिक्षा विभागले अबका दिनमा नर्सिङ कोर्सको एन्म्याक मान्यता नपाएका कलेजले डिप्लोमा अफ नर्सिङ पढाउन नपाउने नियम लगाएपछि यही प्रकृतिमा ठगिने क्रम भने रोकिने भएको छ ।

अभिभावकहरुले पनि आफ्नो छोराछोरीलाई विदेश पढ्न पठाउँदा यथेष्ठ छानविन गर्न आवश्यक रहेको नेपाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन एकाका अध्यक्ष पर्शुराम अधिकारीले आग्रह गरेका थिए । यो बैठकमा सहभागी हुन न्यूसाउथवेल्सका अवैतनिक महावणिज्यदूत दिपक खड्का, भिक्टोरियाका अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, साउथ अष्ट्रेलियाका वाणिज्यदूत दिपक धमला, वेष्टर्न अष्ट्रेलियाका फ्रेडरिक निल ओ ब्राउनले आफ्नो राज्यमा विद्यार्थीका समस्या र तिनको समाधानका विषयमा खेलिएको भूमिका लगायतका विषयमा जानकारी दिएका थिए । अन्तर्राष्ट्रिय विद्यार्थीको संगठन सीसाका अध्यक्ष विजय सापकोटाले अष्ट्रेलियामा कलेज खारेज हुने विषय नौलो नभएपनि एआईबिटीमा पढ्न एक हजार विद्यार्थीको समस्या फरकखाले भएको बताए । शैक्षिक परामर्शदाताले थप सजगता अपनाउनुपर्ने उनको जोड थियो । कार्यवाहक राजदूत द्रुपदा सापकोटाले छलफलको विषयवस्तुका बारेमा प्रकाश पारेपछि अघि बढेको छलफलमा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, उपाध्यक्ष केशव कँडेल, सचिव देव गुरुंग, युथ कोअर्डिनेटर विजय पौडेल, प्रवक्ता डिला खरेल लगायत उपस्थित थिए । एनआरएनले विद्यार्थीको जानकारीका लागि पुस्तिका समेत प्रकाशन गर्न लागेको जानकारी उनीहरुले गराएका थिए । यस्तै नेपाली समूदायका अगुवाहरु कृष्ण हमाल, डाक्टर घनश्याम चापागाईं, भिजन फर मोटिभेसनका महेश प्रसाई, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष हेमन्त काफ्ले, पत्रकार डा. भरतराज पौडेल लगायतले समस्या समाधानतर्फ दूतावासको सकारात्मक कदम भन्दै छलफलको स्वागत गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?