ब्रिसबेनमा नृत्य प्रतियोगिता आयोजना हुँदै, न्यूजिल्याण्डबाट पनि सहभागी आउने !
हरेक दुई वर्षमा आयोजना हुँदै आएको अष्ट्रेलियाव्यापी नृत्य प्रतियोगिता ब्रिसबेनमा सेप्टेम्बरमा हुने भएको छ । सेप्टेम्बरको २८ र २९ मा प्रतियोगिता गर्न लागिएको हो । नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डको आयोजनामा गर्न लागिएको प्रतियोगितामा एनआरएनसहित अन्य विभिन्न नेपाली सामूदायिक संघ संस्थाहरुको सहभागिता रहनेछ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज ब्रिसबेनको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा अस्ट्रेलिया र न्यूजील्याण्डबाट सहभागिता आह्वान गरिनेछ । प्रतियोगिता क्वीन्सल्याण्ड युनिवर्स्टिि अफ टेक्नोलोजीको गार्डेन्स थियटरमा गर्ने तयारी छ ।
नेपालीपन झल्किने भेषभूषा र गीतमा नृत्य प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा एकल, युगल र समूहगत गरि तीन विधामा सहभागी हुन पाइनेछ । एकै व्यक्तिले पनि तिनै विधामा सहभागिता जनाउन सक्नेछन् । सहभागीहरुको छनोट आवेदनका साथ प्राप्त हुने भिडियोबाट गरिने आयोजकले जनाएको छ । यसरी छनोट भएकाहरुमध्येबाट प्रतिस्पर्धा गराई दोश्रो चरणमा जाने व्यवस्था गर्ने र सेप्टेम्बर २९ मा फाईनल प्रतिस्पर्धा गराउने आयोजकहरुको योजना छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश सिंगल नृत्यतर्फ ८ सय ,५ सय र ३ सय डलर त्यस्तै यगुल नृत्यतर्फ १२ सय, ६ सय र ४ सय डलर त्यस्तै समूहगत नृत्यतर्फ १६ सय, ९ सय र ५ सय डलर नगद पुरष्कार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको यो पाँचौ संस्करण हो । जुलाई १ तारिखसम्म आवेदन दिन सकिने व्यवस्था छ ।