रवि लामिछाने अझै हिरासतमा, अस्मिताको बयान सकियो, भोलि दुईजनाको बयान हुने


न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँगका चर्चित प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले अबेर गरी अदालतमा पेश गरेका कारण बयान नसकिएका कारण थुनामा पठाइएको छ । प्रहरीले पक्राउ गरी एक पटक थप गरी १० दिन थुनामा राखेर तयार पारेको अभियोगपत्रका साथ अदालतमा लगेपनि सुरुमा अस्मिता कार्कीको बयान गराइएको र बयानपछि कार्यालय समय सकिएका कारण सोमबार विहान १० बजेका लागि समय तोकिएको हो । 

लामिछानेको रिहाईको माग गर्दै शान्तिपूर्ण रुपमा चितवनको चोकमा जम्मा भएका उनका समर्थकहरुको भीड बढ्न थालेपछि र नारा उग्र बन्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरी भीडलाई तितरवितर पारेको थियो । सालिग्राम पुडासैनीले मृत्युअघि भिडियो रेकर्ड गरी आफ्नो मृत्युको कारण रवि लामिछाने र युवराज कँडेलका साथै प्रेमिका अस्मिता कार्की भएको बताएका थिए । प्रहरीले अदालतमा पेश गरेको मुद्दामा तीनैजनालाई दुरुत्साहन मुद्दा लगाइनुपर्ने र हदैसम्मको कारवाही गरिनुपर्ने माग छ । उनीहरुले मिलेमतोमा पुडासैनीलाई मर्न बाध्य तुल्याएको प्रहरी अभियोगपत्रमा दावी छ । यसका लागि ५० हजार जरिवाना र ५ वर्ष कैदको माग गरिएको छ । गत शुक्रबारदेखि केही छापाहरुले पुडासैनी र अस्मिताको सम्बन्धका विभिन्न विषय सार्वजनिक गरेका छन् जसमा उनले यौन र मानसिक दबाब दिएर अस्मितालाई विवाह गर्न दबाब दिँदै आएको लेखिएको छ । दुईबीचको सार्वजनिक गरिएका एसएमएसहरुमा यस्तो संकेत मिलेको बताइएको छ ।

अर्कोतर्फ निजहरुले शनिबारको दिन बस्नका लागि प्रयोग गर्ने घर समेत फेला परेको छ । दुई महिनादेखि भाडा नतिरिएको अवस्थामा फेला परेको घरका मालिकले आत्महत्या गरेको पत्रकार आफ्नो घरमा बसेको बताएपछि प्रहरीले गएर मुचुल्का उठाएको थियो भने कागजपत्र र फोटोहरु लिएर गएको थियो । प्रहरीले त्यहाँबाट एक युवतीसँग बसेको पुडासैनीको फोटो, सुन किनेको बिल, एउटा लोबेड लगायतका सामग्रीहरु रहेको जनाएको छ । फोटोमा भएकी युवती अस्मिता नै हुन् वा अरु कोही थिइन् भन्ने प्रहरीले खुलाएको छैन । यसअघि दिपकराज गिरी लगायतका कलाकारहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रवि लामिछानेमाथिको अनुसन्धान छिटो सकाएर थुनामुक्त गर्न माग गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?