अष्ट्रेलियामा यस्तो भयो संविधान दिवस, पर्यटनसँगै लगानीको पनि चर्चा !
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा अष्ट्रेलियामा मनाइएको छ । गत बुधबार १८ सेप्टेम्बरमा क्यानबेरास्थित नेपाली दूतावासको आयोजनामा गरिएको कार्यक्रममा यहाँका सरकारी निकायका अधिकारीहरु, अष्ट्रेलियाको नेपाली समाजका प्रतिनिधिहरु लगायतको सहभागिता रह्यो ।
उक्त अवसरमा संक्षिप्त रुपमा बोल्दै कार्यवाहक राजदूत द्रुपदा सापकोटाले वर्तमान सरकारको सम्बृद्ध नेपाल सुखी नेपालीको नाराका साथ सन् २०२२ सम्म मध्यम आय भएको देशमा रुपान्तरण गर्ने अभियान रहेको जानकारी गराइन् । २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको भन्दै सापकोटाले एक पटक नेपाल भ्रमण गर्नैपर्ने विश्वका गन्तव्यमा पहिलो नम्बरमा रहेको पनि बताइन् । नेपालमा स्थीर सरकार रहेका कारण लगानीको लागि उपयुक्त रहेको धारणा पनि उनको थियो । कार्यक्रममा सहभागी हुन अष्ट्रेलियामा रहेका नेपाली महावाणिज्यदूतहरु, एनआरएन अष्ट्रेलियाका पदाधिकारी, न्यूजिल्याण्डका नेपाली समूदायका अगवाहरु, व्यापारी, व्यवसायी, विद्यार्थी लगायत क्यानबेरा पुगेका थिए ।
नेपाली दूतावासले दिएको जानकारी अनुसार उक्त अवसरमा अष्ट्रेलियाको विदेश मन्त्रालय चिफ प्रोटोकल अफिसर, अष्ट्रेलिया नेपाल संसदीय मित्रता समूहका संयोजक एवं संघीय सांसद पिटर खलिल लगयात अन्य देशका राजदूतहरु, महावाणिज्यदूतहरु सहभागी थिए ।