लामो बिदाको समयमा सचेत बनौं सुरक्षित रहौं, समुद्र र सडकमा सावधान !
अष्ट्रेलियामा यतिबेला धेरैजना क्रिसमससहित नयाँ वर्ष लगायतको बिदामा रमाउने योजना बनाइरहेका छन् । यहीँ स्थायी रुपमा बसोबास गरिरहेकाहरुको आफ्नै तयारी छ भने भर्खरै अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा यहाँ आउनेहरुको पनि योजनामा कमी छैन । कामकै बिचमा पनि केही दिन रमाइलो गर्ने उनीहरुको तयारी छ । यो खुशीको कुरा हो । कामको तनाव, पढाईको सकस अनि विदेशी भूमिमा एक्लोपनलाई भुलाउने यो उत्तम अवसर मध्येकै एक हो । तर, यही बेला विशेष सावधानी आवश्यक छ उनीहरुमा । विगत केही वर्षदेखिको ट्रेन्ड हेर्ने हो भने यस्तै लामो बिदाका समयमा अधिकांश दुर्घटना भएका छन् र नेपालीले आफ्ना होनहार सन्तानलाई गुमाउनुपरेको छ । सानो लापर्वाहीले, सानो असावधानी र सानो बेहोसीले नेपालमा रहेको परिवार, अष्ट्रेलियाको नेपाली समूदायले ठूलो पीडा सहनुपरेका घटना हामी सबैलाई थाहा छ ।
खानपिनका बेला प्रदर्शन गरिने अनुशासन, साथीभाईले हौस्याउने मात्र होइन सावधान पनि गर्ने परिपाटीले नै यो दुर्घटनालाई कम गर्न सकिनेछ ।
पानीमा सुरक्षा
हामी भूपरिवेष्ठित देशबाट आएका हौं । हामीले नेपालमा पौडी खेलेका हौंला तर थोरैले मात्र बगेको पानीमा पौडी खेलेका छौं । खोलाको पानी र समुद्रको पानीमा आकाश जमिनको अन्तर हुन्छ । समुद्रको पानी बाहिरबाट हेर्दा चलायमान नदेखिएपनि भित्रभित्रै गम्भीर ‘करेन्टहरु’ धारहरु बगिरहेका हुन्छन् । यी यति शक्तिशाली हुन्छन् कि तिनले समुद्रको तटतर्फ लगातार धकेलिएको पानीलाई एउटा निकास दिलाएर फेरि समुद्रको बीच भागसम्म लैजान्छन् । यही प्रक्रियामा समुद्रको तटतर्फ आएको पानीको छालमा परियो भने त ठीकै हो तर समुद्रतर्फ नै फर्किँदै गरेको पानीमा परियो भने बर्बाद छ । यसले यति तिव्र गतिमा तपाईंलाई समुद्रको बीचमा लैजान्छ कि मानिसले आँखा झिम्काउन पनि पाउँदैनन् । र, यही बेला उद्धार गर्न समेत कठीन हुन्छ । तालिमप्राप्त व्यक्तिले मात्रै यस्तो बेलामा उद्धार र सुरक्षा गर्न सक्दछन् । त्यसैले तट रक्षकहरु रहेको ठाउँमा मात्रै समुद्रको पानीमा जानु सबैभन्दा सुरक्षित हुनेछ । यस्तो तट रक्षक रहेको ठाउँमा पहेंलो झण्डा गाडिएको हुन्छ । यी झण्डाको बीचमा पौडी खेल्ने हो भने दुर्घटना कम हुन्छ र भइहालेमा पनि उद्धारको सम्भावना ज्यादा हुन्छ ।
यो भिडियोले तपाईंलाई केही मद्दत गर्न सक्छ ।
भर्खरै सिड्नीमा ‘बिच सेफ्टी’ सेसनको आयोजना भयो । भीएफएमले गरेको यो कार्यक्रममा पुगेका कसैले पनि परिपरिको सुरक्षा अवलोकन गरी सुरक्षित छु भन्ने महसूस नभएसम्म पानीमा जाने छैनन् । तर, के यही फर्मुला सबैले सिक्न सकिँदैन ?
सडकमा सुरक्षा
यस्तै बिदाको समयमा लङ ड्राईभमा पूरै परिवारका साथ, साथीभाईको ठूलै टोली समेत मिलेर रमाइलो गर्न हामी निस्कछौं । खानपान र रमाइलोकाबीच हामी सडक सुरक्षाका मापदण्डहरुलाई बिर्सिरहेका हुन्छौं । हामी रमाइलो गर्दैछौं भनेर के सडकमा आउने सम्भावित खतराहरुले हामीलाई छाडिदिन्छन् त ? पक्कै पनि यस्तो सम्भावित सडकमा देखिने खतराको अवस्थामा हाम्रो अझ बढी भूमिका हुन्छ । तर, हाम्रो ध्यान सडकमा छैन भने दुर्घटना अवश्यंभावी छ । यस्तो दुर्घटनाले आफ्नो मात्र होइन । सडकमा हिंड्ने अरुको समेत सुरक्षामा गम्भीर चुनौती खडा गर्न सक्छ । यस्तो बेला केही निश्चित नियम हामीले पालना गर्नैपर्छ । सडकमा तोकिको भन्दा बढी गतिमा कहिल्यै सवारी चलाउन हुँदैन । क्यामेरा छैन, सडकमा प्रहरी छैन भन्दैमा गाडी दौडायौं भने त्यसले गम्भीर दुर्घटना निम्त्याउन सक्छ । एकैछिनअघिको रमाइलो एकैछिन पनि रुवावासीमा परिणत हुन्छ । यसैकारण सबैभन्दा पहिलो सर्त भनेकै गतिको अनुशासन कायम गर्ने हो । यस्तै लामो दूरीमा यात्रा गर्दा भरपर्दो यातायातको साधन छनोट पनि महत्वपूर्ण हुन्छ । हामी सानो कार लिएर त्यसमा ५ जना अटाई नअटाई चढेका छौं अनि हाईवेमा १ सय १० किलोमिटरको गतिमा दौडिन्छौं भने यसले दुर्घटनाको खतरालाई अझ बढाईदिन्छ । यसैले साधनको छनोट अर्को महत्वपूर्ण पाटो हो ।
यसैगरी हामीले गाडीमा नै ठूलो ठूलो स्वरमा गीत बजाउँदै गाउँदै ड्राईभिङ गर्ने मानिसलाई समेत यस क्रियाकलापमा संलग्न गराउँदै अघि बढेका छौं भने यसले दुर्घटनाको प्रतिशतलाई ह्वात्तै बढाइदिन्छ । सडक नियमको पूर्णत पालना सुरक्षाको निम्ति पहिलो सर्त हो । यो सर्तलाई हामीले कहिल्यै नभुलौं ।
हामी कामना गर्छौं सन् २०१९ को बिदाईसँगै सन् २०२० को नयाँ वर्षलाई स्वागत गर्दैगर्दा यस पटक कम्तिमा हामीले कनै दुर्घटनाको खबर सुन्न नपरोस् । अकालमा असावधानीका कारणले कसैको पनि ज्यान नजाओस् । आउनुस् तपाईं हामी यो सुरक्षाको अभियानमा हातेमालो गरौं, एकले अर्कालाई सचेत बनाउँ, सुरक्षित तुल्याउँ ।