कस्ता अपराधी ? कुटपिट गरेर ट्रकले किची हत्या गरेको पुष्टि, हदैसम्म कारवाही माग


नेपालमा बेला बेलामा क्रुर खालका घटना सार्वजनिक हुन्छन् । कतै करेन्ट लगाएर मारेका घटना देखिन्छन् भने कतै बेहोस बनाएर ट्रकले किचेर मारेको घटनाले जनजीवन त्रसित बन्छ । यस्तै घटना भयो जनकपुरमा । नदी उत्खनन्को बिरोध गर्ने दिलिप कुमार महतोलाई क्रसर उद्योगीहरुले फलामको रडले घोचेर घाइते बनाई उनको शरीरमाथि टिपर चलाएको खुलेको छ । धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका २४ वर्षीय दिलिप महतोको शुक्रबार बिहान ४ बजे झिसमिसेमै टिपर चलाएर हत्या गरिएको थियो । यद्यपि प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर आएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार राति ९ बजे पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार दिलिपको दाहिने कोखामा चार जना मिलेर फलामको लिभरले घोचेर खोलामा सुताई ना।७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गरिएकोे थियो ।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतका अनुसार खोलामा टिपरले बालुवा गिट्टी चोरी गरी लगिरहेको थाहा पाएपछि ओमप्रकाश भनिने दिलिप टिपर समात्न गएका थिए । त्यही क्रममा क्रसर उद्योगी सोही ठाउँका २७ वर्षीय विपिन महतो, महोत्तरीको बर्दिवास नगरपालिका ९ बस्ने ना।७ ख ६४१३ नम्बरका टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, बर्दिवासकै वडा नम्बर २ निवासी लोडर चालक २४ वर्षीय जितेन्द्र कुमार महतो र धनुषाको मिथिला नगरपालिका ५ बस्ने २७ वर्षीय रोशन यादवले उनको हत्या गरेको प्रहरी प्रमुख बस्नेतले बताए ।

पत्रकार सम्मेलनमा यी चारै जनालाई प्रहरीले सार्वजनिक पनि गरेको छ । ‘यी चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं,’ धनुषाका प्रहरी प्रमुख बस्नेतले भने ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?