अष्ट्रेलियामा ९ जना नेपालीलाई कोरोना संक्रमण, दुईजना निकोभए, ५० जना सेल्फ आइसोलेसनमा !


तस्वीर सांकेतिक मात्र ।

अष्ट्रेलियामा कोरोनाको संक्रमण भएका नेपालीको संख्या ९ पुगेको छ । तास्मानियामा एकजना नेपाली विद्यार्थीलाई कोरोनाका लक्षण देखिएको र त्यसपछि तीन दिनभत्रै उनी ठीक भएका थिए भने न्यूसाउथवेल्समा कोरोना देखिएका एकजना नेपाली पनि निको भइसकेका छन् । यससँगै निको हुने नेपालीको संख्या २ पुगेको छ भने अहिले पनि ७ जना कोरोनाका कारण आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।
सिड्नीमा चार जना नेपाली विद्यार्थी र मेलबर्नमा तीन जनामा कोरोनाको संक्रमण देखिएका कारण यतिबेला उनीहरु सेल्फ आइसोलेसनमा बसिरहेका छन् । नेपाली दूतावास क्यानबेराबाट एमएनटीभीसँग कुरा गर्दै राजदूत महेशराज दाहालले सबै बिरामीहरु दूतावासको सम्पर्कमा रहेको जानकारी दिए । दूतावासको संरक्षकत्वमा बनाइएको उच्चस्तरीय राहत समितिमार्फत राहत समेत वितरण भइसकेको उनले जानकारी दिए । एनआरएन अष्ट्रेलियाको अध्यक्षतामा सबै सामूदायिक संघ संस्था सम्मिलित यो कमिटीले भर्खरै आएका नेपाली विद्यार्थी लक्षित राहत वितरण गरिरहेको छ । जस अन्तर्गत ३० दिनसम्मको खाना दिने योजना छ ।

न्यूसाउथवेलसका संयोजक देव गुरुंगले चार जनालाई आफुहरुले सम्पर्क गरी चिकित्सकहरुबाट हरेक दिन परामर्श दिने कार्यको समेत समन्वय गरिरहेको जानकारी दिए । भिक्टोरियाका संयोजक प्रेम कँडेलले पनि उनीहरुलाई कोराना लागेको अवस्थामा के गर्ने के नगर्ने लगायतका सबै परामर्शनेपाली चिकित्सकहरुले नै प्रदान गरेको जनाकारी दिए । भिक्टोरियामा ती जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने अर्को एकजनाको रिपोर्ट आउन बाँकी छ ।

यसैबीच, कोरोना प्रभावितका लागि संयुक्त अभियानमा सहयोगका लागि आग्रह गर्ने नेपाली विद्यार्थीको संख्या ४ सय बढी पुगेको छ । जसमध्ये कोरोना लागेको वा कोरोना लागेका व्यक्तिको संसर्गमा गएका कारणले सेल्फ आइसोलेसनमा बस्नेको संख्या ५० रहेको छ । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले कोरोना लाग्दैमा आत्तिन नपर्ने बताए । उनले दुई जना नेपालीमा सुरुमा कोरोना देखिएपनि पछि रिपोर्ट नेगेटिभ आएको बताए । उनले भने, “कोही आत्तिनु पर्दैन । रोग लाग्न नदिनु पहिलो प्राथमिकता हो भने यदि रोग लागि नै हाल्यो भने यसलाई जित्न पनि सकिन्छ भन्ने यी घटनाले देखाएका छन् ।” 

एएनएमडीएका अध्यक्ष डा. चन्द्रदिपक पोखरेल पनि कोरोनाको संक्रमण भए वा कोरोना लागेका व्यक्तिसँग नजिक भएका कारणले सेल्फ आइसोलेसनमा बस्नुपरे आत्तिनु नहुने बताउँछन् । डा. पोखरेलका अनुसार यस्तो बेलामा कसैलाई नभेट्ने, सरसफाईमा ध्यान दिने, आफ्नो आत्मविश्वास जगाउने खालका कार्य गरेमा यो भाईसको संक्रमण फैलिन पाउँदैन ।

राजदूत महेश दाहालले पनि केही भइहालेमा नआत्तिन र चिकित्सकको निगरानीमा बस्न, दूतावास वा महावाणिज्यदुतको कार्यालय अथवा नेपालीका सामूदायिक संघ संस्थामा सम्पर्क गरेर यो महामारीको घडीमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?